×

गैँडाकोट- असोज २४ गते गैँडाकोट नगरपालिका वडा नं. ४ रानीतालमा शोकको छाया परेको थियो। ४९ वर्षीया कनिमाया गुरुङको असामयिक निधनपछि परिवार र छरछिमेकी स्तब्ध थिए। गुरुङ परम्परा अनुसार विधिपूर्वक शोक प्रकट गर्दै आफन्त र गाउँलेले नजिकैको गैँडाकोट सामुदायिक वनको शान्त कुनामा कनिमायाको भौतिक शरीरलाई विश्राम दिए-अर्थात् खाडल खनेर दाहसंस्कार गरे।

माटोले पुरिएको त्यो समाधिस्थलमा आफन्तहरूले आफ्ना आँसु गाडेका थिए, र अन्तिम संस्कारको नियम अनुसार काजक्रिया सुरु भएको थियो।

काजक्रियाको अन्तिम दिन, असोज २६ गतेको बिहानी। समय करिब ७:०० बजेको थियो। उज्यालोसँगै कनिमायाका आफन्तहरू परम्परा अनुसार समाधिस्थलको माटो लिन र अन्तिम श्रद्धाञ्जलीका बाँकी विधि पूरा गर्न सामुदायिक वनतर्फ लागे।

तर, समाधिस्थल पुग्दा उनीहरूले जे देखे, त्यसले उनीहरूको खुट्टा मुनिबाट जमिन नै भासिए जस्तै भयो।

जहाँ दुई दिनअघि श्रद्धापूर्वक माटो दिइएको थियो, त्यहाँको समाधिस्थल क्षतविक्षत पारिएको थियो। माटो खनीखोस्री फालिएको थियो भने दुई दिनअघि पुरिएको कनिमायाको शव खाडलभित्रै खुल्ला र अस्तव्यस्त अवस्थामा थियो। शोकमा डुबेका आफन्तजनका लागि यो दृश्य कुनै भयानक दुःस्वप्नभन्दा कम थिएन। मानवता र आस्थामाथि नै ठूलो प्रहार भएको आभास गर्दै उनीहरूले तुरुन्तै इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरे।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण गिरीको कमान्डमा तत्कालै विशेष प्रहरी टोली घटनास्थलतर्फ खटियो। वनको शान्त वातावरणमा यस्तो अमानवीय र संवेदनशील अपराध कसले र किन गर्यो? इन्स्पेक्टर गिरीको नेतृत्वमा रहेको प्रहरी टोलीले सुक्ष्म र तीव्रताका साथ अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीको तीव्र खोजतलास र सुक्ष्म अनुसन्धानका क्रममा घटनाको पर्दा उघारियो।

समाधिस्थल खनेर शवलाई त्यसरी अलपत्र पार्ने र क्षतविक्षत बनाउने व्यक्ति अर्कै कोही नभई सोही रानीतालमै बस्दै आएका ३१ वर्षीय शक्ति परियार (शिव) भएको खुल्यो। मूल घर तनहुँको देवघाट गाउँपालिका वडा नं. ५ भई हाल गैँडाकोट-४ मा बस्ने शक्ति परियारले नै रातको समयमा समाधिस्थल खनेर हानी-नोक्सानी पुर्‍याएको अनुसन्धानबाट पुष्टि भयो।

संवेदनहीन र धार्मिक आस्थामाथि आघात पुर्‍याउने यो कार्यमा संलग्न शक्ति परियारलाई प्रहरी निरीक्षक लक्ष्मण गिरी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार निज परियारविरुद्ध धर्मसम्बन्धी कसूर (चिहान खनेको) मा मुद्दा दर्ता गरी नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर गहन अनुसन्धान भइरहेको छ—आखिर उनले कुन मनसायले वा के उद्देश्यका लागि चिहान खनेका थिए?

तपाईको प्रतिक्रिया