गैँडाकोट। गैँडाकोट नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा महेश सुवेदीले पदबहाली गर्नुभएको छ। जिल्ला समन्वय समिति लमजुङबाट सरुवा भई आउनुभएका सुवेदीलाई आज (बुधबार) आयोजित एक औपचारिक कार्यक्रमका बिच नगरपालिका कार्यालयमा भव्य स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरपालिकाका कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई खदा र माला लगाएर स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो। स्वागत पश्चात् उहाँले आजै आफ्नो पदबहाली सम्हाल्नुभएको छ।
नयाँ जिम्मेवारी सम्हालेसँगै प्रमुख प्रशासकीय अधिकृत सुवेदी गैँडाकोट नगरपालिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा कान्छो प्रमुख प्रशासकीय अधिकृत बन्नुभएको छ।
पदबहाली पछि बोल्दै उहाँले नगरको सुशासन, पारदर्शी सेवा प्रवाह र विकास निर्माणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जनप्रतिनिधि तथा कर्मचारीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नगरप्रमुख अधिकारी तथा उपप्रमुख कोइरालाले नयाँ प्रशासकीय प्रमुखको कार्यकाल सफलताको कामना गर्दै नगरको समृद्धि र नागरिकलाई सहज सेवा उपलब्ध गराउन पूर्ण सहयोग रहने बताउनुभयो।



उज्यालो खबर

