काठमाडौँ – गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड ‘आईविवी’का डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ।
आईविवी नेपालका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। विपद्को समयमा प्रभावित परिवारलाई मद्दत गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष राहत अभियानअन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर यो राहत रकम जुटाइएको हो। यो सहयोग रकम सङ्कलनमा देशभरका सम्पूर्ण उपभोक्ता, रिटेलर र डिलरहरूको मुख्य योगदान रहेको आईविवी नेपालले स्पष्ट पारेको छ।
चितवन र आसपासमा आईविवीका उत्पादन लोकप्रिय
यसैबीच अष्ट्रेलियन ब्रान्ड आईविवीका बेबी केयर उत्पादनहरू चितवन र यस वरपरका क्षेत्रमा उपभोक्ताहरूले अत्याधिक मन पराएका छन्। गुणस्तरीय र बालमैत्री भएकाले छोटो समयमै यी उत्पादनहरू अभिभावकको पहिलो रोजाइ बन्न सफल भएका हुन्।चितवन क्षेत्रका लागि आधिकारिक बिक्रेता ‘ब्रदर्श सर्जिकल’का सञ्चालक बसन्त पौडेलका अनुसार चितवन र आसपासका बजारमा आईविवीका उत्पादनको माग तीव्र रूपमा बढिरहेको छ।
“आईविवीका डायपर तथा बेबी केयर उत्पादनहरूको गुणस्तर उत्कृष्ट भएकाले यहाँका उपभोक्ताहरूले निकै रुचाउनुभएको छ,” सञ्चालक पौडेलले भन्नुभयो, “गुणस्तरीय सामानका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई यति ठूलो सहयोग गरेको खबरले स्थानीय उपभोक्ता, रिटेलर र डिलरहरूमा झन् खुसी र विश्वास थपेको छ।”
आईविवी नेपालले विपद्को यस समयमा राहत कोषमा योगदान पुर्याउने आफ्ना सम्पूर्ण ग्राहक, रिटेलर तथा वितरण सञ्जालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक दायित्वप्रति प्रतिबद्ध रहने जनाएको छ।



उज्यालो खबर

