×

गैँडाकोट- हालै रसुवा जिल्लामा गएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको उद्धार तथा राहतका लागि गैँडाकोट नगर प्याब्सनले यहाँका निजी विद्यालयहरूसँगको सहकार्यमा करिब २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गैँडाकोटमा हाल २२ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्।

नगर प्याब्सनका अध्यक्ष भरतबाबु कडेलको अध्यक्षतामा बसेको बैठकले पछिल्लो बाढीपीडितहरूको दयनीय अवस्थालाई मध्यनजर गर्दै प्रदेश तथा जिल्ला कार्यसमितिको निर्देशन अनुसार विद्यार्थी संख्याको आधारमा राहत रकम संकलन गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार ५०० भन्दा मुनि विद्यार्थी भएका विद्यालयले २० हजार, ५०० देखि ७५० सम्मकाले ४० हजार, ७५१ देखि १००० सम्मकाले ६० हजार र १००० भन्दा माथि विद्यार्थी भएका विद्यालयले ८० हजार रुपैयाँ सहयोग गर्नेछन्।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिने उक्त राहत रकम आगामी भाद्र १९ गते शुक्रबारभित्र अनिवार्य रूपमा लेटरहेडमा शीर्षकअनुसार छुट्याई प्रमाणित गरी पालिका मार्फत सम्बन्धित कोष वा निकायमा पठाइसक्ने निर्णय भएको छ। यस मानवीय तथा विपद् व्यवस्थापनको राहत संकलन अभियानमा सक्रियताका साथ जुट्न सम्पूर्ण सदस्य विद्यालयका प्राचार्य तथा प्रिन्सिपलहरूलाई विशेष अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया