रसुवा, नुवाकोट र धादिङ जिल्लामा गएको भोटेकोशी नदीको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार र पुनर्स्थापनाका लागि नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको अपूरणीय धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ता भएकाहरूको खोजी कार्यमा चासो व्यक्त गरिएको छ।
बाढीपीडितहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाको सञ्चालक समिति, लेखासुपरिवेक्षण समिति, कर्मचारीहरू तथा संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२५,५५५/- (अक्षररुपी तीन लाख पच्चिस हजार पाँच सय पचपन्न रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको छ।
यस किसिमका प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूको पीडामा संस्था सधैं परिवारको रूपमा ऐक्यबद्ध भई उभिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद काफ्लेले बताएका छन्। विपद्को यस विषम परिस्थितिमा प्रभावितहरूको खोज, उद्धार र राहत वितरणमा यो सानो सहयोगले महत्त्वपूर्ण राहत पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेका छन्।
अध्यक्ष मोहन सिंह थापा बाकवल र प्रमुख कार्यकारी अधिकृत रामप्रसाद काफ्लेद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको उल्लेख गरिएको छ।



उज्यालो खबर

