दुम्किबास- हालै आएको विनाशकारी बाढीका कारण नदी तथा खोलाहरूमा मरेका माछा, पशुपन्छी र अन्य जीवजन्तु बगेर आई थुप्रिएकाले बिनयी त्रिवेणी गाउँपालिकाले सम्पूर्ण पालिकावासीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बाढीका कारण पानी र वातावरण गम्भीर रूपमा दूषित भई सरुवा रोग तथा संक्रमणको जोखिम बढेकाले स्थानीय प्रशासनले विशेष सजगता अपनाउन भनेको हो।
गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा बाढीले बगाएर ल्याएका वा नदी किनारमा मरेका माछा र पशुपन्छीको मासु कुनै पनि हालतमा उपभोग नगर्न तथा तिनको किनबेच वा वितरण नगर्न भनिएको छ। सूचना अनुसार यस्ता मरेका जीवजन्तुलाई नाङ्गो हातले नछुन र बालबालिका तथा घरपालुवा जनावरलाई ती क्षेत्रबाट टाढा राख्न सुझाइएको छ।
त्यस्तै, जारी सूचनामा पिउन र खाना पकाउनका लागि बाढीबाट दूषित भएको पानी प्रयोग नगरी राम्ररी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरिएको छ। बाढीको पानी वा फोहोरको सम्पर्कमा आएपछि साबुनपानीले राम्ररी हात धुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले अनुरोध गर्नुभएको छ।
नदी किनार वा अन्य स्थानमा मरेका पशुपन्छी भेटिएमा आफूखुसी व्यवस्थापन नगरी तत्काल सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा खबर गर्न भनिएको छ। साथै, बाढीपछि ज्वरो आउने, झाडापखाला, बान्ता, पेट दुख्ने वा छालामा संक्रमण जस्ता स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउन प्रमुख प्रशासकीय अधिकृत बस्नेतद्वारा जारी सूचनामार्फत आह्वान गरिएको छ।




उज्यालो खबर

