गैँडाकोट। हालै आएको बाढीका कारण स्थानीय नदी तथा खोलाहरूमा मरेका माछा, पशुपन्छी र अन्य जनावरहरू बगेर आई नदी किनार लगायतका क्षेत्रमा थुप्रिएपछि गैँडाकोट नगरपालिकाले तिनको उपभोग नगर्न सर्वसाधारणमा आग्रह गरेको छ। मरेका जीवजन्तु र बाढीका कारण पानी तथा वातावरण दूषित भई झाडापखाला, हैजा, छालाको सङ्क्रमण जस्ता गम्भीर रोग तथा महामारी फैलिने उच्च जोखिम रहने भएकाले नगर कार्यपालिकाको कार्यालयले सम्पूर्ण नगरवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलक राज पौडेलद्वारा जारी सूचना अनुसार बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा तथा पशुपन्छीको मासु कुनै पनि अवस्थामा उपभोग नगर्न र तिनको किनबेच वा वितरण नगर्न अनुरोध गरिएको छ। मरेका पशुपन्छीलाई नाङ्गो हातले नछुन र बालबालिका तथा घरपालुवा जनावरलाई त्यस्ता वस्तु भेटिएका स्थानबाट टाढा राख्न भनिएको छ।
यसैगरी, बाढीबाट दूषित भएको वा दूषित हुन सक्ने पानी पिउन तथा खाना पकाउन प्रयोग नगरी पानी उमालेर वा विधिपूर्वक शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरिएको छ। बाढीको पानी वा फोहोरको सम्पर्कमा आएपछि, विशेष गरी खाना खानु र पकाउनु अघि साबुनपानीले राम्ररी हात धुन नगरपालिकाले जोड दिएको छ।
यदि नदी किनार वा अन्य सार्वजनिक स्थानमा मरेका जीवजन्तु भेटिएमा आफूखुसी व्यवस्थापन नगरी तत्काल सम्बन्धित वडा कार्यालय वा गैँडाकोट नगरपालिकामा जानकारी गराउन अनुरोध गरिएको छ। साथै, बाढीपछि कसैलाई ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, छाला वा आँखाको सङ्क्रमण जस्ता स्वास्थ्य समस्या देखिएमा ढिला नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउन भनिएको छ। नगरपालिकाले दूषित खानपानबाट बचेर आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित र स्वस्थ राख्न विशेष आह्वान गरेको छ।




उज्यालो खबर

