×

गैंडाकोट- नवलपुरको गैंडाकोट–६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयका पूर्वप्रधानाध्यापक स्वर्गीय जगदीश अधिकारीको ३१औँ पुण्यस्मृतिका अवसरमा आयोजित एक कार्यक्रमबीच विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा स्वर्गीय अधिकारीका छोराद्वय सुजन अधिकारी र सुजन अधिकारी विशेष अतिथि थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष चापागाईंले शिक्षा क्षेत्रमा स्वर्गीय अधिकारीले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै गैंडाकोटको शैक्षिक सुधारमा उनको भूमिका अतुलनीय रहेको बताए। उनले स्वर्गीय अधिकारीको स्मृतिमा स्थापित अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुर्‍याएको उल्लेख गर्दै वडा कार्यालयले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशेष अतिथि सुजन अधिकारीले बुबाको शिक्षाप्रतिको समर्पण र सपनालाई जीवित राख्न अक्षयकोषमार्फत साना विद्यार्थीहरूलाई सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्मृति दिवसकै अवसरमा स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारीले आफ्ना बुबाको स्मृतिमा खडा गरिएको अक्षयकोषको सावा रकममा यस वर्ष थप १० हजार रुपैयाँ हस्तान्तरण गरे। उक्त अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले हरेक वर्ष विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आइएको विद्यालयले जनाएको छ।

अध्यक्षताको आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटले अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएकोमा अधिकारी परिवारप्रति आभार व्यक्त गरिन्।

विद्यालयकी शिक्षिका माया कँडेलले सहजीकरण गरेको कार्यक्रममा गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षद्वय नरहरि सापकोटा र लक्ष्मीप्रसाद सापकोटा, प्रधानाध्यापक सीता लम्साल, पूर्वप्रधानाध्यापकहरू डिल्लीप्रसाद अम्बई, पवित्रा अधिकारी, चन्द्रबहादुर विक तथा कल्पना परिवारलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया