×

नवलपुर। गैँडाकोटमा पूर्वशिक्षकबाट विद्यार्थीमाथि भएको अमर्यादित घटनालाई लिएर सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिसकिएको र घटनामा संस्थाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

विद्यालयका प्राचार्य भरतबाबु कँडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त घटना विद्यालय परिसर वा समयभित्र नभई शिक्षकको निजी समयमा, विद्यार्थीकै निवासमा होम ट्युसन पढाउने क्रममा घटेको हो। घटनाको जानकारी पाउनासाथ विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूसँगको छलफलपछि ती शिक्षकलाई तत्काल प्रभावले बखास्त गरिएको विद्यालयले जनाएको छ।

व्यक्तिगत कसुरलाई जोडेर संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक समाचार सम्प्रेषण नगर्न विद्यालयले सञ्चार माध्यम तथा शुभचिन्तकहरूमा आग्रह गरेको छ। साथै, पीडितलाई न्याय दिलाउन प्रहरी-प्रशासनले गरिरहेको कानुनी छानबिनमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

हाल विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण सुरक्षित र शान्त रूपमा नियमित सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया