गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ को नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक सुरुवात भएको छ। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आज बिहान एक विशेष समारोहका बिच भवनको शिलान्यास गर्नुभएको हो।
नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको आयोजना सूचना पाटी अनुसार ‘गैंडाकोट नगरपालिका वडा नं. ५ को कार्यालय भवन निर्माण’ शीर्षकमा यो योजना अघि बढाइएको छ। यस आयोजनाको ठेक्का नं. 17/GM/NCB/2082-83 रहेको छ।
भवन निर्माणको जिम्मेवारी काठमाडौँको सिनामंगलस्थित सूर्योदय निर्माण सेवा प्रालि ले पाएको छ। मूल्य अभिवृद्धि कर र प्रोभिजनल सम सहित आयोजनाको कुल बजेट ८८ लाख ७३ हजार २०९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
नगरपालिकासँग निर्माण व्यवसायीको सम्झौता २०८३ साल असार १९ गते भएको थियो। स्वीकृत कार्यतालिका अनुसार निर्माण कम्पनीले आगामी २०८३ साल मङ्सिर २९ गतेभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले तोकिएकै समय र गुणस्तरमा निर्माण कार्य सम्पन्न गरी स्थानीयबासीलाई छिटोभन्दा छिटो सहजीकरण गर्न निर्देशन दिनुभयो। वडा कार्यालयको आफ्नै व्यवस्थित भवन निर्माण भएसँगै ५ नम्बर वडाबासीलाई प्रशासनिक सेवा प्रवाहमा थप सहजता, छरितोपन र पहुँच पुग्ने विश्वास लिइएको छ।



उज्यालो खबर

