गैँडाकोट। नवलपुरको गैँडाकोट नगरपालिका–१४, माथिल्लो भागरस्थित मामाघरबाट जङ्गलतर्फ गएर बेपत्ता भएका साढे दुई वर्षीय बालक सिवान तामाङ ५० घण्टापछि (बिहीबार बिहान पौने १० बजे) सकुशल भेटिएका छन्। दुई रातसम्म जङ्गलमै बिताएका बालकलाई घरबाट करिब चार किलोमिटर टाढा रहेको ‘चिहानखोला’ को बाझको रुखभन्दा केही माथि रोइरहेको अवस्थामा फेला पारिएको हो।
मङ्गलबार बिहान ७ बजे हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शङ्खदेवी सामुदायिक वनतर्फ गएपछि बालक उनकै पछाडि लागेका थिए। बालक बेपत्ता भएलगत्तै खटिएका स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी गर्ने क्रममा जङ्गलमा बालक रोएको आवाज सुनेपछि पछ्याउँदै जाँदा उहाँलाई फेला पारेको हो।
करिब ५० घण्टाको निरन्तर खोजीपछि बालक भेटिएपछि परिवार र सिङ्गो गाउँलेले राहतको सास फेरेका छन्। तर, वयस्क व्यक्तिलाई समेत घरबाट पैदल हिँड्न करिब चार घण्टा लाग्ने कठिन भौगोलिक बनावट भएको क्षेत्रमा साढे दुई वर्षका अबोध बालक कसरी पुगे भन्ने कुरा भने अझै रहस्यमय नै बनेको छ।
उद्धार गरिएका बालकको अनुहारमा सामान्य चोटपटक देखिएको छ। वैदेशिक रोजगारीका क्रममा आमाबुवा भारतमा रहेकाले सिवान विगत डेढ वर्षदेखि मामाघरमै हजुरआमाको रेखदेखमा रहँदै आएका थिए। बालकको स्वास्थ्य परीक्षणपछि थप रेखदेखका लागि परिवारको जिम्मा लगाइएको छ।



उज्यालो खबर

