काठमाडौं– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१, सिंगाहास्थित न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। विद्यालयकी एक नाबालिग छात्रालाई सामाजिक सञ्जाल (म्यासेन्जर) मार्फत अश्लील मेसेज पठाएको आरोपमा उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।
रातिको समयमा छात्रालाई निरन्तर अश्लील मेसेज पठाएर मानसिक तनाव दिएको भन्दै परेको जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार पक्राउ परेका प्रधानाध्यापकलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। पीडित छात्रा नाबालिग भएकाले उनको गोपनीयता कायम राखिएको छ।
“हालसम्म बालिकामाथि भौतिक रूपमा यौनहिंसा भएको विवरण भने आएको छैन,” सूचना अधिकारी थापाले भने, “एक जना विद्यार्थीको मात्र जाहेरी परेको र हालसालैबाट मेसेज पठाउन थालेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले घटनाको सूक्ष्म प्रमाण जुटाउन प्रधानाध्यापक न्यौपानेको मोबाइल फरेन्सिक जाँचका लागि पठाउने तयारी गरेको छ। फरेन्सिक रिपोर्ट आएपछि घटनाका थप तथ्यहरू बाहिर आउने प्रहरीले जनाएको छ।



उज्यालो खबर

