×

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) बाट उत्साहजनक सहभागिता रहने भएको छ। साउन २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने तीन दिने भेलामा नवलपुरबाट मात्रै करिब १०० भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने भएका हुन्।

आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा हुन लागेको उक्त भेलामा सहभागी हुन नवलपुरका  नेताहरू काठमाडौँ पुगिसकेका छन्।

काठमाडौँ पुग्नेहरूमा काँग्रेस नवलपुरका जिल्ला सचिव महेन्द्र पोखरेल, सहसचिव राजेश पौडेलका साथै युवा तथा स्थानीय नेताहरू शषि बस्ताकोटी, अशोक बस्ताकोटी, मोतीचन्द्र चालिसे, ईश्वर रिमाल, ललित श्रेष्ठ, अमृत श्रेष्ठ, सुशील काफ्ले कमल पराजुली, झपेन्द्रश्वर भूसाल राजन सुवेदी, इन्द्र फाल,  यदुनाथ सापकोटा लगायत रहेका छन्।

भेलाका विषयमा जानकारी दिँदै नवलपुरका सहसचिव राजेश पौडेलले पार्टीको आगामी दिशानिर्देश र आन्तरिक एकतालाई सुदृढ बनाउन यो भेला कोशेढुङ्गा साबित हुने बताए। “हामी जिल्लाका मुख्य नेतृत्व पंक्तिसहित काठमाडौँ आइपुगिसकेका छौँ। भोलिसम्म जिल्लाका विभिन्न तह र तप्काका थुप्रै नेता तथा कार्यकर्ताहरू भेलामा सहभागी हुन काठमाडौँ आइपुग्नुहुनेछ,” सहसचिव पौडेलले भने।

तीन दिनसम्म चल्ने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। भेलाको प्रमुख अतिथिका रूपमा पूर्वसभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ। देउवाले शुक्रबार दिउँसो १ बजे भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया