गैंडाकोट- वन संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गैंडाकोटस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूह राष्ट्रियस्तरको प्रतिष्ठित ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत भएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदान गरिएको उक्त पुरस्कार ‘सामुदायिक वन दिवस २०८३’ को अवसरमा सोमबार ललितपुरस्थित प्रकृति संरक्षण कोषमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभागको आयोजनामा सम्पन्न कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नारायणी सामुदायिक वनका प्रतिनिधिलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो।
सामुदायिक वनको दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा पुर्याएको विशिष्ट योगदानको मूल्याङ्कन गर्दै नारायणी सामुदायिक वनलाई राष्ट्रियस्तरको यस पुरस्कारका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ।
पुरस्कार ग्रहण गर्दै समूहका अध्यक्ष नेत्रराज सापकोटाले राष्ट्रियस्तरको यस सम्मानले नारायणी सामुदायिक वनका सम्पूर्ण उपभोक्ता र पदाधिकारीहरूमा थप उत्साह र जिम्मेवारी थपेको बताउनुभयो। “यो पुरस्कारले हामीलाई खुसीसँगै अझ बढी जिम्मेवार बनाएको छ,” अध्यक्ष सापकोटाले भन्नुभयो, “आगामी दिनमा अझ व्यवस्थित र समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्नेछौँ।”
समूहका उपाध्यक्ष धनपति सापकोटाले वनको दिगो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै वनबाट प्राप्त हुने लाभलाई समुदायसम्म पहुँचयोग्य र व्यवस्थित बनाउन निरन्तर प्रयासरत रहने बताउनुभयो।
त्यसैगरी, समूहकी सचिव सीता गिरीले वन र समुदायको सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “वन जोगाउँदा वातावरण मात्र जोगिँदैन, यससँग जोडिएको समुदायको जीवन र भविष्य पनि सुरक्षित हुन्छ भन्ने मान्यताका साथ हामीले काम गर्दै आएका छौँ।” उहाँले पुरस्कार प्राप्त हुनुमा उपभोक्ताको निरन्तर सहभागिता, समूहका पदाधिकारी तथा कर्मचारीको मेहनत र सरोकारवाला निकायको सहयोग मुख्य कारक रहेको उल्लेख गर्नुभयो।
आयोजकका अनुसार सामुदायिक वन व्यवस्थापनका उत्कृष्ट अभ्यासहरूको संरक्षण तथा प्रवर्द्धन गर्न र अन्य वन उपभोक्ता समूहहरूलाई प्रेरणा प्रदान गर्न यस पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।



उज्यालो खबर

