×

चितवन । जिल्ला प्रशासन कार्यालयको विशेष पहल र सक्रियतापछि चितवन जिल्लामा सिर्जना भएको एलपी ग्यासको चरम अभाव नियन्त्रण र समाधानउन्मुख बनेको छ। बजारमा ग्यासको हाहाकार चुलिएलगत्तै प्रशासनले चालेको रणनीतिक कदम, नयाँ वितरण प्रणाली र तीव्र सक्रियताका कारण हालसम्म करिब ८२५ जनालाई सहजरूपमा ग्यास उपलब्ध गराइसकिएको छ।

बजारमा अस्वाभाविक चाप र कालाबजारीको जोखिम बढेपछि स्थिति सम्हाल्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याल आफैँ मैदानमा उत्रिएका थिए। उनले ग्यास विक्रेता तथा डिलरहरूलाई आपतकालीन बैठकमा बोलाएर समाधानको व्यावहारिक बाटो पहिल्याएका हुन्। सोही छलफलको निष्कर्षअनुसार सिङ्गो जिल्लालाई विभिन्न ‘कलस्टर’ (क्षेत्रगत आधार) मा विभाजन गरी व्यवस्थित रूपमा ग्यास वितरण सुरु गरिएको छ।

यसका साथै, अति आवश्यक वर्गलाई लक्षित गरी प्रशासनले विशेष नागरिकमैत्री व्यवस्था मिलाएको छ। बिरामी, अशक्त र होस्टेलमा बस्ने विद्यार्थीहरूलाई ग्यासको अभाव हुन नदिन जिल्ला प्रशासनमा सोझै फोन गरेर जानकारी गराउनासाथ ग्यास उपलब्ध गराउने प्रबन्ध गरिएको छ। सोही सोझो सम्पर्क र कलस्टर प्रणालीमार्फत हालसम्म करिब ८२५ जनाले प्रत्यक्ष रूपमा ग्यास पाउन सफल भएका हुन्।

प्रशासनको समयोचित कदम, फोनकै भरमा ग्यास पाइने पारदर्शी व्यवस्था र ‘कलस्टर’ प्रणालीको प्रभावकारी कार्यान्वयनका कारण बजारको अस्वाभाविक भीड र त्रास क्रमशः हट्दै गएको छ। ग्यास आपूर्ति सहज बन्दै गएपछि चितवनका स्थानीय बासिन्दाले ठूलो राहतको महसुस गरेका छन्।

तपाईको प्रतिक्रिया