×

काठमाडौं -भन्सार विभागका पूर्व महानिर्देशक (डिजी) तथा हाल मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले सरकारी सवारी साधनको व्यापक दुरुपयोग गरेको खुलेको छ। भन्सार विभागको डिजी छँदा लिएको गाडी उनले हालसम्म फिर्ता नगरी निजी प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको हो।

प्राप्त जानकारी अनुसार पौडेलले भन्सार विभागबाट लिएर गएको सेतो सरकारी नम्बर प्लेटको हुन्डाई क्रेटा गाडीलाई कानुनविपरीत रातो (निजी) नम्बर प्लेटमा परिणत गरेका छन्। हाल उनले बागमती प्रदेश-०१-०३३ च ४२२४ नम्बरको रातो प्लेट राखेर उक्त सवारी साधन दुरुपयोग गर्दै आएका छन्।

यसअघि महालेखा नियन्त्रक छँदा पनि उनले एकैसाथ तीन वटा गाडी प्रयोग गर्दै आएको खुलेको छ। सो क्रममा उनले भन्सारको क्रेटासहित महालेखा नियन्त्रक कार्यालयको नाममा रहेका थप दुई वटा गाडी (जसमा एक सेतो स्कर्पियो समावेश थियो) रातो प्लेट बनाएर फेरिफेरि चढ्ने गरेका थिए।

हाल मधेश प्रदेशको प्रमुख सचिवको हैसियतमा प्रदेश सरकारबाट कानुन बमोजिम बेग्लै सवारी सुविधा पाइरहे तापनि उनले भन्सार विभागको गाडीमा अझै कब्जा जमाइरहेका छन्। यता भन्सार विभागले भने आफ्नो गाडी फिर्ता ल्याउन कुनै ताकेता वा आँट गर्न सकेको छैन।

अन्य तल्लो तहका कर्मचारीबाट सरकारले गाडी फिर्ता लिइरहँदा उच्च पदस्थ अधिकारीले नै सरकारी गाडीलाई निजी बनाएर दुरूपयोग गर्ने र एकाधिक सवारी साधन कब्जा गर्ने प्रवृत्तिले सुशासनको खिल्ली उडाएको छ। यस्ता गैरकानुनी गतिविधिलाई रोक्न सरकारले तत्काल विशेष निगरानी र कडा कदम चाल्नुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया