कावासोती । नवलपुरको कावासोती नगरपालिका–८ स्थित एनपीआई कालिगण्डकी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गराएका १९ वर्षीय युवक दुई साता बितिसक्दा पनि अचेत अवस्थामा रहेपछि आफन्तहरूले चिकित्सकको लापरवाहीको आरोप लगाउँदै अस्पताल अगाडि कडा प्रदर्शन गरेका छन्।
मध्यविन्दु नगरपालिका–१० निवासी १९ वर्षीय यमराज सोती मगरलाई गत साउन ९ गते एपेन्डिक्सको शल्यक्रियाका लागि एनपीआई कालिगण्डकी अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया सम्पन्न भएको यतिका दिन बितिसक्दा पनि बिरामीको होस नआएपछि उपचारका क्रममा चिकित्सकबाट गम्भीर त्रुटि र लापरवाही भएको आरोप आफन्तहरूले लगाएका छन्। आक्रोशित बनेका ४०/५० जनाको संख्यामा रहेका आफन्त तथा स्थानीयले आइतबार दिउँसो १:३० बजे अस्पताल घेराउ गर्दै नाराबाजी गरेका थिए।
आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो। अचेत अवस्थामा रहेका मगरको अवस्था चिन्ताजनक भएपछि हाल भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राख्दै स्थिति नियन्त्रणमा लिन प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमाण्डमा २५ जनाको प्रहरी टोली अस्पतालमा खटाइएको थियो।
तनावग्रस्त स्थितिबीच दिउँसो १:५४ बजे अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल सुरु भएको थियो। छलफलका क्रममा अस्पताल प्रशासनले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रस्ताव अघि सारेको थियो। तर, उपचारमा लापरवाही भएको दाबी गर्दै पीडित पक्षले ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग राखेपछि सहमति जुट्न सकेन।
दुवै पक्ष आफ्नै अडानमा कायम रहेपछि वार्ता निष्कर्षविहीन टुंगिएको छ। पीडित पक्षले उपचारका क्रममा भएको घटनाको उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषी देखिएका स्वास्थ्यकर्मीलाई कारबाही र बिरामीले उचित न्याय पाउनुपर्ने माग दोहोर्याएका छन्।



उज्यालो खबर

