गैँडाकोट- स्थानीय राजनीतिमा परम्परागत शैली र भाषणमा मात्र सीमित आश्वासनभन्दा नतिजामुखी, अध्ययनशील र सक्षम नेतृत्वको माग चुलिँदै गएका बेला गैँडाकोट नगरपालिकामा एक नयाँ तर प्रभावशाली नामको चर्चा सुरु भएको छ। आगामी २०८४ को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेपाल तथा भारतको आतिथ्य तथा पर्यटन क्षेत्रका एक प्रतिष्ठित व्यावसायिक समूहका प्रमुख कार्यकारी अधिकृत (COO) एवम् कुशल रणनीतिकार बोधराज लम्साल मेयर पदको सम्भावित दौडमा अगाडि देखिएका छन्।
मूल घर तनहुँ भई हाल गैँडाकोट नगरपालिका वडा नं. १ मा चार पुस्ताको संयुक्त परिवारसहित बसोबास गर्दै आएका लम्साल सामाजिक र व्यावसायिक वृत्तमा एक इमानदार, परिपक्व र नतिजामुखी नेतृत्वका रूपमा परिचित छन्।
आतिथ्य तथा पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय उच्च व्यवस्थापकीय नेतृत्व सम्हालिसकेका लम्सालसँग रणनीतिक योजना, वित्तीय व्यवस्थापन र संस्थागत सुधारको दीर्घ अनुभव छ। अर्थशास्त्र, आतिथ्य व्यवस्थापन र कम्प्युटर इन्जिनियरिङको बहुआयामिक शैक्षिक पृष्ठभूमिका कारण उनी समस्याको सतही व्याख्याभन्दा तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित दिगो समाधान प्रस्तुत गर्न रुचाउँछन्।
व्यवसायको व्यस्तताका बाबजुद उनी चितवन र नवलपुर क्षेत्रका विभिन्न कलेजहरूमा पुगेर युवाहरूलाई नेतृत्व, करियर विकास र उद्यमी बन्ने कला सिकाइरहेका हुन्छन्। हजारौँ युवालाई क्षमता अभिवृद्धि र प्रेरणा प्रदान गरिसकेका उनी स्थानीय युवापुस्ता माझ निकै लोकप्रिय मानिन्छन्।
लम्साल केवल संस्थागत प्रशासक मात्र नभई तथ्याङ्क विश्लेषण, जनपरिचालन, संगठन निर्माण र अभियान व्यवस्थापनमा बलियो पकड भएका सिद्धहस्त चुनावी रणनीतिकार पनि हुन्। उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग जोडिएको भए तापनि उनी कहिल्यै पार्टीगत सङ्कुचित राजनीतिमा सीमित भएनन्।
हाल राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिक रहेका लम्सालको रास्वपाका केन्द्रीय तथा प्रभावकारी शीर्ष नेताहरूसँग नियमित बाक्लो उठबस र राजनीतिक/सामाजिक संवाद रहने गरेको छ। स्रोतका अनुसार, लम्साल आगामी स्थानीय चुनावमा सकेसम्म रास्वपाको तर्फबाट आधिकारिक उम्मेदवारका रूपमा, नभए आम नागरिक र युवाहरूको साझा चाहना अनुसार स्वतन्त्र रूपमा भए पनि गैँडाकोट नगरपालिकाको मेयर पदमा चुनावी मैदानमा उत्रिने बलियो तयारीमा छन्।
विगतको स्थानीय निर्वाचनमा पनि चुनावी योजना बनाएर परिस्थितिवश पछि हटेका लम्सालले यसपटक भने आफ्नो चुनावी रणनीति र व्यवस्थापकीय अनुभवलाई गैँडाकोटको रूपान्तरणमा पूर्ण रूपमा प्रयोग गर्ने संकल्प लिएका छन्।
नगरलाई समृद्ध बनाउन नारा मात्र पर्याप्त नहुने धारणा राख्ने लम्सालको सोच स्पष्ट छ- “गैँडाकोटलाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने नगर बनाउने।”पर्यटन, शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारलाई एउटै विकासको सूत्रमा बाँधेर सुशासन, पारदर्शिता र नवप्रवर्तन ल्याउने उनको दीर्घकालीन योजना छ।
आगामी स्थानीय तह निर्वाचन आउन अझै केही महिना बाँकी नै छन्। चुनावको औपचारिक मिति र उम्मेदवारीको टुङ्गो लाग्न बाँकी रहे पनि गैँडाकोटमा सम्भावित नामहरूबारे बहस भने तीव्र बनेको छ। राजनीतिक दलहरू, पार्टीगत आवद्धता वा स्वतन्त्र प्रयास जुनसुकै माध्यमबाट उम्मेदवारी दर्ता भए तापनि नगरवासीको मूल चाहना भने स्पष्ट छ- राजनीतिक दाउपेचभन्दा माथि उठेर नगरको समग्र विकास, सुशासन र समृद्धि सुनिश्चित गर्न सक्ने एक पारदर्शी, शिक्षित र सक्षम नेतृत्व गैँडाकोटले पाओस्। बोधराज लम्साल जस्ता कुशल व्यवस्थापकको चर्चाले यो बहसलाई थप रचनात्मक र आशावादी बनाएको छ।



उज्यालो खबर

