गैंडाकोट – नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ का एक होनहार युवाले अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा नेपाल र आफ्नो जन्मथलो गैंडाकोटको नाम उच्च बनाएका छन्। गैंडाकोटकै माटोमा हुर्किई प्रारम्भिक शिक्षा लिएका युवा अनुसन्धानकर्ता विवेक ढकालले अमेरिकामा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो महत्त्वपूर्ण वैज्ञानिक खोज प्रस्तुत गर्दै नेपालको सिर उँचो बनाएका हुन्।
अमेरिकाको मिनेसोटामा सम्पन्न विश्वप्रसिद्ध ‘२०२६ अमेरिकन सोसाइटी फर भाइरोलोजी (ASV) सम्मेलन’ मा ढकालले एक मुख्य वक्ताका रूपमा आफ्नो विद्यावारिधि (Ph.D.) को अनुसन्धान प्रस्तुत गरे। विश्वभरका शीर्ष विषाणुविज्ञ (भाइरोलोजिस्ट) हरूको बाक्लो उपस्थिति रहेको उक्त भव्य मञ्चमा उनले शिरमा ढाका टोपी पहिरिएर नेपाली संस्कृति, स्वाभिमान र पहिचानलाई गर्वका साथ प्रदर्शन गरेका थिए।
ढकालले विश्वव्यापी जनस्वास्थ्य र कृषि क्षेत्रका लागि ठूलो चुनौती बनिरहेको अति घातक ‘H5N1 बर्ड फ्लु’ (Avian Influenza) विरुद्ध नाकबाट दिइने (Intranasal) नयाँ तथा प्रभावकारी खोप विधिसम्बन्धी अनुसन्धान प्रस्तुत गरेका हुन्। सुई नलगाई नाकबाट दिइने यो आधुनिक खोप प्रविधिले बर्ड फ्लु रोकथाममा नयाँ क्रान्ति ल्याउने विश्वास गरिएको छ। उनको यो वैज्ञानिक खोजलाई अन्तर्राष्ट्रिय मञ्चमा निकै चासो र उच्च सम्मानका साथ हेरिएको छ।
गैंडाकोट-१ का रैथाने विवेकको यो सफलता पछाडि एउटा प्रेरणादायी शैक्षिक यात्रा जोडिएको छ। उनले कक्षा १० सम्मको अध्ययन स्थानीय सरस्वती निकेतनबाट पूरा गरेका थिए। त्यसपछि विज्ञान विषय लिएर प्लस टु (११ र १२) प्रेरणा कलेजबाट उत्तीर्ण गरे।
आफ्नो बाल्यकाल र किशोरावस्था गैंडाकोटमै बिताएका विवेकले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) बाट पशुचिकित्सा (B.V.Sc. & A.H.) मा स्नातक गरे। अध्ययनमा निरन्तर अब्बल ठहरिँदै आएका उनी हाल अमेरिकाको चर्चित भर्जिनिया-म्यारील्याण्ड कलेज अफ भेटेरिनरी मेडिसिनबाट Ph.D. गरिरहेका छन्।
गैंडाकोटकै विद्यालयमा पढेर विश्वकै माथिल्लो तहको वैज्ञानिक सम्मेलनमा वक्ताका रूपमा उभिनु गैंडाकोटबासीका लागि ऐतिहासिक गौरवको विषय बनेको छ। आधुनिक विज्ञानको जटिल खोज पस्कँदै गर्दा पनि आफ्नो मौलिक पहिचान ‘ढाका टोपी’ नबिर्सिने विवेकको यो राष्ट्रप्रेम र सफलताको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।



उज्यालो खबर

