चितवन । भरतपुर इङ्ग्लिस स्कुल्स सोसाइटी (बेस) ले २०८२ को एसइई (SEE) र आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, विषयगत शिक्षक तथा विद्यालयहरूलाई एक समारोहका बीच सम्मान गरेको छ।
भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा आयोजित सहजीकरण एवं सम्मान कार्यक्रममा बेसअन्तर्गतका ४४ निजी विद्यालयहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, ४ जिपिए (GPA) ल्याउने विद्यार्थी र उत्कृष्ट विषयगत शिक्षकहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्याब्सन बागमती प्रदेशका सल्लाहकार टीकाराम चपाईंले अरूको सफलतामा खुसी हुनसक्नु नै शिक्षकको सबैभन्दा ठूलो गुण भएको बताए। “मैले वा मेरो विद्यालयले केही पाएको छैन, त्यसैले कार्यक्रममा किन जाने?” भन्ने सोच शिक्षकमा हुन नहुने उल्लेख गर्दै उनले पुरस्कार प्राप्त नभए पनि शैक्षिक एकता, सहकार्य र सद्भावका लागि सबै विद्यालयको सहभागिता आवश्यक रहनेमा जोड दिए।
सो अवसरमा अभिभावक संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपानेले गुणस्तरीय शिक्षाकै कारण अभिभावकको रोजाइ निजी विद्यालय बनेको स्पष्ट पारे। विद्यालयको स्तरवृद्धि र गुणस्तर कायम राख्न लागु गरिने नीति तथा आवश्यकताअनुसार हुने शुल्क वृद्धिमा अभिभावकको कुनै गुनासो नरहेको उनको भनाइ थियो।
४ जिपिए ल्याउने विद्यार्थीहरू सम्मानित
कार्यक्रममा एसइई २०८२ मा ४ जिपिए ल्याउन सफल वाल्मीकि शिक्षा सदनका अनुभव पौडेल र विप्लव गौतम, पोलार स्टारका दीक्षा अर्याल र सेन्ड्रिका लामिछाने, अर्किड सेकेण्डरी स्कुलका अनुज बस्याल र असिम अधिकारी तथा स्टेप बाइ स्टेप इङ्ग्लिस स्कुलका सविन सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो।
त्यसैगरी, बिएलई परीक्षामा ४ जिपिए ल्याउने अरोमा इङ्ग्लिस स्कुलका ईशान रानाभाट, वाल्मीकि शिक्षा सदनका अन्वेसा अधिकारी, आयान त्रिपाठी र प्राञ्जली पराजुली, भृकुटी बोर्डिङकी रियाकुमारी गुप्ता तथा प्रगति पाठशाला कुरिनटारकी स्तुति सिलवाल सम्मानित भए।
शतप्रतिशत नतिजा र उत्कृष्ट विषयगत शिक्षकहरू
एसइईतर्फ इच्छाकामनास्थित प्रगति पाठशाला तथा बिएलईतर्फ अङ्कुरम् एकेडेमी र प्रगति पाठशालालाई शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा सम्मान गरियो।
यस्तै, उत्कृष्ट औसत अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउने एसइई र बिएलईका विभिन्न विषयका शिक्षकहरूलाई पनि सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। जसमा सागर सिलवाल (अङ्ग्रेजी), सुदर्शन कट्टेल (नेपाली), माधवप्रसाद पोखरेल र टेकनाथ पौडेल (गणित), मनिष घिमिरे (विज्ञान), खिमप्रसाद काफ्ले र सुवास रेग्मी (सामाजिक), विनोद अधिकारी (ऐ. गणित), हरिराम रेग्मी (जनसंख्या), सुजन ढकाल (अर्थशास्त्र), गौरवराज क्षेत्री (लेखा), र समीरचन्द्र कोइराला (कम्प्युटर) लगायतका शिक्षकहरू परेका छन्।
प्रधानाध्यापक वेदराज न्यौपानेलाई ‘दीर्घ सेवा पुरस्कार’
सोही समारोहमा लगातार २० वर्षदेखि नारायणी पब्लिक स्कुलमा सहप्राचार्य र प्राचार्यको रूपमा निरन्तर योगदान पुर्याएका प्रधानाध्यापक वेदराज न्यौपानेलाई दोसल्ला ओढाएर ‘दीर्घ सेवा पुरस्कार’ बाट विशेष सम्मान गरियो।
बेसका अध्यक्ष शिवबहादुर केसीको अध्यक्षता र चेतप्रसाद सेढाईंको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, प्याब्सनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।



उज्यालो खबर

