काठमाडौं – विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। हिमपहिरोपश्चात् टोलीसँगको सम्पूर्ण सम्पर्क विच्छेद भएको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले जानकारी दिएका छन्।
सम्पर्कविहीन टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक अमेरिकी, एक चिनियाँ र एक ओमानी नागरिक रहेका छन्। टोली प्रमुख पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ६ महिनाभन्दा केही बढी समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका चर्चित आरोही हुन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन आरोहीहरूको तत्काल खोजी तथा उद्धारका लागि सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ। मौसम अनुकूल हुनासाथ हेलिकोप्टरसहित उपलब्ध अन्य स्रोत-साधन परिचालन गरी उद्धार टोली खटाइने तयारी गरिएको छ।
अल्पाइन क्लबले एक विज्ञप्ति जारी गर्दै सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरेको छ।



उज्यालो खबर

