धनगढी- धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।
घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्।अवस्था गम्भीर भएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिए तापनि आफन्तले उनलाई काठमाडौँ लैजाने निर्णय गरेका थिए।
काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान करिब ७ बजे धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।मृतकको शवलाई पुनः कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको छ भने घटनाको वास्तविक कारणबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।



उज्यालो खबर

