×

गैंडाकोट- गैंडाकोट नगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्द्धन र वातावरण संरक्षण गर्ने उद्देश्यका साथ सब डिभिजन वन कार्यालय गैंडाकोटले तीव्र रूपमा नि:शुल्क बिरुवा वितरण गरिरहेको छ। कार्यालयको असार महिनादेखि सुरु भएको वार्षिक स्वीकृत कार्यक्रम अनुसार हालसम्म ६ हजार विभिन्न प्रजातिका बिरुवाहरू समूह तथा व्यक्तिहरूलाई नि:शुल्क वितरण भइसकेको छ।

गैंडाकोट नगरपालिका वडा नं. ९ थुम्सीमा अवस्थित सब डिभिजन वन कार्यालयको नर्सरीबाट फलफूल, काठ, दाउरा तथा जडीबुटीजन्य गरी २० भन्दा बढी प्रजातिका बिरुवाहरू वितरण भइरहेका छन्। नर्सरीमा अम्बा, सरिफा, शीतलचिनी जस्ता फलफूलका साथै खयर, धुपी, बर्रो, सतिसाल लगायतका बहुउपयोगी बोटबिरुवाहरू उपलब्ध गराइएको छ।

असारदेखि हालसम्म ६ हजार बिरुवा वितरण भइसकेको र अझै करिब ८ हजार बिरुवा नर्सरीमा बाँकी रहेकाले आवश्यक पर्ने उपभोक्ता समूह वा व्यक्तिले कार्यालयमा सम्पर्क गरी लैजान सक्ने कार्यालयले जनाएको छ।

गैंडाकोट सब डिभिजन वन कार्यालयका प्रमुख सन्तोष मिश्रका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक वन, कबुलियती वन र धार्मिक वनको रेखदेख, अनुगमन तथा नियमनको जिम्मेवारी सम्हाल्दै आएको कार्यालयले स्थानीय तहमा हरियाली बढाउन र निजी तथा सार्वजनिक जग्गाको सदुपयोग गराउन विशेष प्राथमिकता दिएको छ।

“हाम्रो मुख्य कार्यक्षेत्र गैंडाकोट नगरपालिका हो। नगरभित्र रहेका सम्पूर्ण सामुदायिक, कबुलियती र धार्मिक वनहरूको प्रभावकारी अनुगमन, रेखदेख र नियमन गर्दै आएका छौँ,” कार्यालय प्रमुख मिश्रले भने, “पर्यावरण सन्तुलन र भू-क्षय रोकथामका साथै फलफूलका माध्यमबाट स्थानीयको आयआर्जनमा समेत टेवा पुगोस् भन्ने हेतुले बहुउपयोगी २० प्रजातिका बिरुवा नि:शुल्क वितरण गरिरहेका छौँ।

असारदेखि हालसम्म ६ हजार बिरुवा बाँडिसकेका छौँ भने अझै ८ हजार बिरुवा नर्सरीमा उपलब्ध छन्। इच्छुक उपभोक्ता, संघ-संस्था तथा स्थानीयवासीलाई नर्सरीबाट नि:शुल्क बिरुवा लगेर उपयोग गर्न अनुरोध गर्दछौँ।”गैंडाकोटलाई हरियाली र वातावरणमैत्री नगर बनाउने अभियानमा स्थानीय समुदायको सहभागिता उत्साहजनक रहेको र बाँकी रहेका ८ हजार बिरुवाहरू पनि छिट्टै वितरण गरिसक्ने सब डिभिजन वन कार्यालयको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया