×

गैंडाकोट- जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी साउन ८ गते गैंडाकोटस्थित मौलाकाली इला रिसोर्टमा भव्य रूपमा आयोजना हुने यस अधिवेशनको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्ने निश्चित भएको छ। उद्योगी र व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको यस संघको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय व्यवसायीहरूमा चुनावी उत्साह र रौनक निकै बढेको छ।

अधिवेशनको तयारी र नयाँ नेतृत्व चयनको प्रक्रियाबारे जानकारी दिँदै जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटका महासचिव तेजनारायण पाण्डेले यस पटकको अधिवेशन उद्योगी व्यवसायीहरूको हकहित र समग्र गैंडाकोटको आर्थिक विकासका लागि ऐतिहासिक कोशेढुङ्गा सावित हुने दाबी गर्नुभयो। महासचिव पाण्डेका अनुसार संघको विधानमा रहेको व्यवस्था बमोजिम हालका वरिष्ठ उपाध्यक्ष छविलाल कँडेल स्वतः अध्यक्षमा निर्वाचित हुने हुनाले नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज र सौहार्दपूर्ण तवरले अगाडि बढ्नेछ।

हालका अध्यक्ष दीपक सापकोटाले आफ्नो सफल कार्यकाल पूरा गरेसँगै कँडेलले संघको नयाँ बागडोर सम्हाल्न लाग्नुभएको हो। पाण्डेले आगामी दुई वर्षे कार्यकालका लागि बन्ने नयाँ कार्यसमिति २९ सदस्यीय हुने जानकारी दिँदै अध्यक्ष बाहेकका अन्य पदहरू वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदका लागि योग्य र सक्षम नेतृत्व चयन गरिने बताउनुभयो। साथै समावेशी सहभागितालाई सुनिश्चित गर्न सह-कोषाध्यक्ष पदमा महिला अनिवार्य गरिएको र कुल २९ सदस्यीय कार्यसमितिमा ३ जना सदस्यहरू पछि मनोनित गरिने वैधानिक व्यवस्था रहेको पनि उहाँले प्रष्ट पार्नुभयो।

गैंडाकोटका उद्योगी व्यवसायीहरूको व्यावसायिक वातावरण सुदृढ गर्न र आर्थिक गतिविधि चलायमान बनाउन यो अधिवेशनले नयाँ ऊर्जा थप्ने महासचिव पाण्डेको भनाइ छ। उहाँले संघको गरिमालाई अझ उच्च बनाउन र अधिवेशनलाई भव्य रूपमा सफल पार्न मौलाकाली इला रिसोर्टमा गैंडाकोट क्षेत्रका सम्पूर्ण उद्योगी, व्यवसायी, सरोकारवाला निकाय तथा आम नागरिकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अपिल समेत गर्नुभएको छ।

तपाईको प्रतिक्रिया