×

काठमाडौं-  दुई तिहाइ नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्वले शेयर बजारमा ‘बुल’ ल्याउने लगानीकर्ताको सपना तीन महिनामै दुस्वप्नमा परिणत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार गठन भएयता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।

विज्ञहरूको ‘ड्रिम टिम’ ले अर्थतन्त्र सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पूँजीबजारका लाखौँ लगानीकर्ता यतिबेला सडक आन्दोलन र निराशाको दोसाँधमा पुगेका छन् ।

सरकार गठन हुनुअघि गत चैत १२ गते २ हजार ९५० विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घट्दै जाँदा समग्र बजार पुँजीकरणमा झन्डै ५ खर्ब ८३ अर्ब रूपैयाँको गिरावट आएको छ । रास्वपा सरकार गठनअघि ५० खर्ब ९ अर्ब रूपैयाँ रहेको कुल बजार पुँजीकरण हाल ४४ खर्ब २६ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

नेपाल शेयर धनी संघका अध्यक्ष जीएस पाण्डेका अनुसार लगानीकर्ताले गुमाएको यो रकम नेपालको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हो । “पुँजी बजार अर्थतन्त्रको ऐना हो, यसलाई बचाउन सकिएन भने आम लगानीकर्तालाई पनि बचाउन सकिँदैन,” अध्यक्ष पाण्डेले चिन्ता व्यक्त गरे ।

पछिल्ला तीन महिनामा मात्रै नेप्से परिसूचक १२.६७ प्रतिशतले घटेको छ । चैत १२ गते २,९५० विन्दुमा रहेको नेप्से हाल २,५७६ विन्दुमा झरेको छ । प्रधानमन्त्री बालेनले केही दिनअघि निजी क्षेत्रका अगुवाहरूलाई बोलाएर संवाद गरे पनि बजारले लय समात्न सकेको छैन ।

बजेट सार्वजनिक भएको दिन जेठ १५ गते नेप्से २ हजार ७६६ विन्दुमा रहेकोमा त्यसयता बजार निरन्तर ओरालो लागिरहेको छ ।

बालेन सरकार गठन हुँदा लगानीकर्ताहरूले शेयर बजार बढ्ने ठूलो अपेक्षा राखेका थिए । अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा लगानीकर्ताले अर्थतन्त्र सुधारका नीति आउने विश्वास लिएका थिए ।

वाग्लेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्ट जस्ता वित्तीय प्रणाली बुझेका विज्ञहरू प्रमुख आर्थिक निकायको नेतृत्वमा छन् । तर, यो टिमको उपस्थितिले पनि बजारलाई सकारात्मक दिशा दिन नसकेपछि लगानीकर्ताहरू रुष्ट बनेर सडकमा उत्रिएका हुन् ।

मंगलबार शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गरे । “लगानीकर्ताको मनोबल गिरेको छ । बजारलाई चाहिने नीति, नियम र पूर्वाधार निर्माण गर्न सरकारले तत्काल चासो दिनुपर्छ,” कोइरालाले माग गरे ।

शेयर बजारका लगानीकर्ता त्रसित हुनुको अर्को मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ठूला व्यवसायीमाथि छानबिन तीव्र बनाउनु पनि हो । सेबोनका अध्यक्ष डा. गोपाल भट्टले सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि लगानीकर्ताहरू डराएर हारगुहार मागिरहेको स्वीकार गरे ।

“उहाँहरूको माग सामान्य छ, पहिले जसरी लगानी आउँथ्यो, अहिले त्यसैले लगानीकर्ताहरू डराइरहेका छन् । तर मनोबल मनको कुरा हो, यस्ता कुराले डराउनु हुँदैन भनेर मैले सम्झाउने गरेको छु,” अध्यक्ष भट्टले भने ।

निरन्तर ओरालो लागेको बजार सुधार्न भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीति अन्तर्गत ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । उक्त कार्यदलमा सेबोन, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन र क्रेडिट रेटिङका प्रतिनिधि रहनेछन् ।

बजारको तीव्र गिरावट र आन्दोलनपछि सेबोन अध्यक्ष भट्टले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छलफल गरी नयाँ पुँजी बजार नीति अघि सारेका छन् । यो नीतिले नेपाली पुँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने सेबोनको दाबी छ ।

नयाँ नीति अन्तर्गत धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने र लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिइने जनाइएको छ । विशेष गरी ‘फिनफ्ल्युयन्सरहरू’ (Finfluencers) बाट बजार प्रभावित पार्ने गरी हुने सूचना प्रवाह, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार र सामाजिक सञ्जालमार्फत हुने वित्तीय ठगी विरुद्ध प्रभावकारी नियामकीय निगरानी गरिने योजना अघि सारिएको छ ।

तपाईको प्रतिक्रिया