काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई सजाय तोकेको हो। रायमाझीलाई एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो। उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना‚ संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना एवं राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तथा सोही कसुरमा थप ६ महिना कैद तोकिएको हो।
खाँडलाई दुई वर्ष कैद‚ २० हजार जरिवाना
पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भने दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना‚ संगठित अपराधमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिनुका साथै थप तीन महिना कैद तोकिएको छ। उनलाई एकीकृततर्फ दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
पाण्डेलाई चार वर्ष‚ रिजाललाई दुई वर्ष र झालाई एक वर्ष कैद
पूर्वसचिव टेकनारायण पाण्डेलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। शरणार्थी नेता टेकनाथ रिजाललाई भने दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।यसैगरी दुई वर्षदेखि पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ सजाय तोकिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश खड्काको इजलासले २४ असारमा फैसला सुनाएको थियो। फैसलाअनुसार दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा छन्।
सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।



उज्यालो खबर

