चितवन – चितवनको भरतपुर महानगरपालिका–२३, बेलहट्टामा गएराति जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडीका अनुसार गएराति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा-छोराको घटनास्थलमै मृत्यु भएको हो। घटना लगतै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई पीडित परिवारलाई राहत दिने र दीर्घकालीन सुरक्षा अपनाउने सहमति भएको वडा अध्यक्ष दवाडीले जानकारी दिनुभयो।
निकुञ्ज र स्थानीय समुदायबीच ४ बुँदे सहमति
नयाँ गोरखा गण, २३ नम्बर वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, नेपाल प्रहरी इलाका कार्यालय गितानगर, र बेलहट्टा हरियाली महिला सामुदायिक उपभोक्ता समितिको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदायबीच निम्न ४ बुँदे सहमति भएको छ:
१. बस्तीमा पसेर जनधनको क्षति पुर्याउने हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक काम गर्ने।
२. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकका परिवारलाई उचित राहत रकम तत्काल उपलब्ध गराउने।
३. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयकै व्यवस्थापनमा मृतकको घर निर्माण गराइदिने।
४. भविष्यमा यस्ता घटना दोहोरिन नदिन मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवश्यक र ठोस कदम चाल्ने।
सहमति पश्चात् निकुञ्ज कार्यालयले हात्ती नियन्त्रण र राहत वितरणको प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। निकुञ्ज आसपासका क्षेत्रमा लगातार हुने यस्ता वन्यजन्तुका आक्रमणले स्थानीय बासिन्दाको सुरक्षामा गम्भीर चुनौती थपेको भन्दै स्थानीयले दीर्घकालीन रूपमा मेस जाली वा पर्खाल लगाउनुपर्ने माग गरेका छन्।


उज्यालो खबर