×

गैँडाकोट-  राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र गैँडाकोट नगरपालिकाको लागत साझेदारीमा सञ्चालित ६५ दिने ‘केयर गिभर’ (केयरगिभर) तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिमको समापनसँगै एक विशेष समारोहका बीच सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख (मेयर) मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले यो तालिमले नगरका नागरिकलाई दक्ष र स्वरोजगार बन्न ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख (उपमेयर) शान्ति कोइरालाको पनि विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले तालिमको प्रभावकारितामाथि जोड दिँदै नगरपालिकाले आगामी दिनमा पनि यस्ता रोजगारमूलक र सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्राप्त सीपले प्रशिक्षार्थीहरूलाई आत्मनिर्भर बन्न सघाउने र यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कालिका मेडिकल तथा टेक्निकल इन्स्टीट्यूटका निर्देशक ध्रुव काफ्ले र उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छविलाल कँडेल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । आर्थिक विकास शाखाका देवेन्द्र गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा ६५ दिनसम्म सञ्चालित सघन तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीहरूलाई बधाई ज्ञापन गर्दै सुखद भविष्यको कामना गरिएको थियो ।

गैँडाकोट नगरपालिकाका रोजगार संयोजक तारा उपाध्यायले समग्र तालिमको संयोजन गर्नुभएको थियो भने समापन कार्यक्रमको सहजीकरण समेत उहाँले नै गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया