×

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला भएको छ। घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्मका लागि कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका छन्।

बिहीबार (आज) बिहान करिब ११:०० बजेको समयमा आफ्नो पदीय कर्तव्य पालना गरिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि उनकै कार्यकक्षभित्रै आक्रमण भएको हो। चितवनको कालिका नगरपालिका वडा नं. २, पदमपुरस्थित ‘किंगफिसर कन्स्ट्रक्सन’का प्रोपाइटर लाल बहादुर तामाङसहित ६ जनाको समूहले कार्यकक्षमै प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक हमला गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आक्रमणकारी समूहले अधिकृतका परिवारका सदस्यहरूलाई समेत नछोड्ने भनी ज्यान मार्ने धम्की दिँदै फरार भएको बताइएको छ।

कार्यालय समयमा प्रशासनिक नेतृत्वमाथि नै कार्यकक्षभित्र यस किसिमको आपराधिक हमला भएपछि गाउँपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। सम्पूर्ण कर्मचारी परिवारले सामूहिक विज्ञप्ति जारी गर्दै उक्त नीच र गैरकानूनी कार्यको घोर भर्त्सना गरेका छन्।

कार्यकक्षमै कर्मचारी असुरक्षित रहने वातावरण सिर्जना भएको भन्दै दोषीउपर कानूनी कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म गाउँपालिकाको कुनै पनि कामकाज सञ्चालन नगर्ने कर्मचारीहरूले घोषणा गरेका छन्।

कर्मचारीहरूले दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न माग गरेका छन्। कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित विज्ञप्ति सार्वजनिक गरी आफ्नो ऐक्यबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया