चितवन । विश्वप्रसिद्ध दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी यामाहाले आफ्नो ७१ औँ वार्षिक उत्सव (यामाहा डे २०२६) लाई चितवनमा भव्य रूपमा सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस वृहत कार्यक्रममा कम्पनीले व्यापारिक उत्सव मात्र नमनाई विपन्न बालबालिकाको शिक्षाको जिम्मेवारी लिने र पुराना सहयोगीहरूलाई सम्मान गर्ने कार्य गरेको छ । कालिका मोटरसाइकल पार्ट्सका प्रबन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधि, अटोमोबाइल्स क्षेत्रका अगुवा तथा यामाहाका ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा यामाहाले सामाजिक सेवा अन्तर्गत एक सराहनीय कार्यको सुरुवात गरेको छ । कम्पनीले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका ७ जना विपन्न, टुहुरा तथा जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेको हो । ती बालबालिकाहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्दै यामाहाले उनीहरूको शिक्षाको पूर्ण भरोसा दिलाएको छ ।
यसैगरी, कार्यक्रममा लामो समयदेखि यामाहालाई आफ्नो यात्राको सारथी बनाउँदै आएका ग्राहक र व्यवसायीहरूको निष्ठालाई कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो । जस अन्तर्गत १६ वर्षदेखि ४० वर्षसम्म निरन्तर यामाहाकै सवारी साधन चढ्दै आएका ६ जना पुराना ग्राहकहरूलाई कदर पत्रसहित सम्मान गरियो । त्यस्तै, यामाहाकै बाइकमा १ लाखदेखि २ लाख किलोमिटरसम्मको लामो दुरी पार गरिसकेका ५ जना राइडरहरूलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा पूर्वी चितवनमा पहिलो पटक रिकन्डिसन व्यवसाय सञ्चालन गर्ने उद्यमी तथा विगत ३२ वर्षदेखि मेकानिक क्षेत्रमा निरन्तर आबद्ध रही व्यवसाय चलाइरहेका ३ जना मेकानिकहरूलाई उनीहरूको अथक योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो ।
कालिका मोटरसाइकल पार्ट्सका प्रबन्ध निर्देशक उत्तम अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठले यामाहाको यस परोपकारी कार्यको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल, अतिथि अनिता मैनाली र श्री धर्मेश्वर आधारभूत विद्यालयका शिक्षक लाल प्रसाद लम्सालले स्वागत मन्तव्य राख्दै कर्पोरेट क्षेत्रले समाजका लागि गर्नुपर्ने योगदानमा यामाहाले उदाहरणीय काम गरेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै टाँडी शाखा प्रमुख राम चन्द्र कोइरालाले आगामी दिनमा पनि व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उज्यालो खबर