×

गैंडाकोट- गैंडाकोट नमूना सेकेन्डरी स्कुलबाट विज्ञान संकाय तर्फ उत्कृष्ट नतिजासहित नेपाल टप गर्न सफल विद्यार्थी शीतल गौतमलाई गैंडाकोटस्थित प्रतिष्ठित अक्सफोर्ड कलेजले शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ। गौतमले विज्ञान संकायमा जिपिए (GPA) प्राप्त गरी विद्यालय र सिंगो क्षेत्रकै गौरव बढाएका हुन्।

गैंडाकोट नमूना सेकेन्डरी स्कुलको परिसरमा आयोजित एक विशेष विद्यार्थी सम्मान कार्यक्रमका बीच अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर डाक्टर इन्जिनियर हरी भण्डारीले उक्त घोषणा गर्नुभएको हो। भण्डारीले उत्कृष्ट नतिजा ल्याउने गौतमलाई बधाई दिँदै अक्सफोर्ड कलेजमा उनले रुचि अनुसारको जुनकुनै विषय अध्ययन गरे पनि पूर्ण रूपमा (शतप्रतिशत) छात्रवृत्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही अवसरमा प्राचार्य डा. भण्डारीले गैंडाकोट नमूनाकै अर्का जेहेन्दार विद्यार्थी इमेन्सराज सुवेदीलाई पनि ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गर्नुभएको छ। सुवेदीले विज्ञान संकाय तर्फ जिपिए प्राप्त गर्दै उत्कृष्ट सफलता हासिल गरेका हुन्। सुवेदीले पनि कलेजमा उपलब्ध आफ्नो रोजाइको जुनसुकै संकाय वा विषय पढे पनि यो ५० प्रतिशत छात्रवृत्तिको सुविधा पाउनेछन्।

नयाँ पुस्ताका प्रतिभाहरूलाई प्रोत्साहन गर्न र उच्च शिक्षामा उनीहरूको पहुँच सहज बनाउन कलेजले यस्तो प्याकेज घोषणा गरेको प्राचार्य भण्डारीले बताउनुभयो। सम्मान कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया