गैंडाकोट- भौगोलिक विकटताका कारण दैनिक घण्टौँ हिँडेर विद्यालय आउन-जानुपर्ने गैंडाकोट नगरपालिका वडा नं. १८ का विद्यार्थीहरूको बाध्यता अब अन्त्य हुने भएको छ। नगरपालिकाले वडा नं. १८ मा रहेको बालज्योति माध्यमिक विद्यालयमा आवासीय (होस्टल) भवन निर्माण गरी विद्यार्थीहरूलाई निःशुल्क बस्ने र खाने व्यवस्था गर्ने योजना अघि सारेको छ।
‘विद्यालयसँग वडा अध्यक्ष’ कार्यक्रममा बोल्दै नगरप्रमुख मदनभक्त अधिकारी र नगर शिक्षा अधिकारी खेम आचार्यले पालिकाको यस ठुलो योजनाबारे सार्वजनिक घोषणा गर्नुभएको हो। यस योजनालाई प्रभावकारी बनाउन आसपासका कम विद्यार्थी संख्या भएका विद्यालयहरूलाई समेत बालज्योतिमा गाभ्ने (मर्ज गर्ने) तयारी पालिकाले गरेको छ।
वडा नं. १८ का हुर्चिल, डुडे, बसेनी, हात्तीसाल, र आहाले लगायतका दुर्गम बस्तीहरूबाट विद्यार्थीहरू बालज्योति विद्यालय आउने गरेका छन्। यी ठाउँहरूबाट विद्यालय पुग्न बालबालिकाहरूलाई कम्तिमा आधा घण्टादेखि ३ घण्टासम्म लाग्ने गर्दछ। भिरालो बाटो, झाडी र वनजङ्गलको बाटो हुँदै दैनिक यति लामो दुरी हिँड्नुपर्दा बालबालिकाको पढाइ र स्वास्थ्य दुवैमा गम्भीर असर परिरहेको छ।
नगरपालिकाका प्रमुख (मेयर) मदनभक्त अधिकारीले भौगोलिक कठिनाइ र लामो पैदल यात्राका कारण बालबालिकाको भविष्यमा असर परिरहेकाले यो योजना ल्याइएको बताउनुभयो।
मेयर अधिकारीले भन्नुभयो: “हाम्रो पहाडी क्षेत्रका हुर्चिल, डुडे, बसेनी, हात्तीसाल, जस्ता ठाउँबाट साना बालबालिकाहरू दैनिक आधादेखि ३ घण्टासम्मको जोखिमपूर्ण र थकित यात्रा गरेर विद्यालय आउन बाध्य छन्। बर्खामा खोलानाला र जङ्गली जनावरको समेत डर हुन्छ। यो समस्या सधैँका लागि अन्त्य गर्न हामीले बालज्योतिमा आवासीय भवन बनाउने सोच बनाएका हौँ। भवन बनेपछि विद्यार्थीहरूलाई त्यहीँ निःशुल्क खाने र बस्ने व्यवस्था पालिकाले गर्नेछ। यसका लागि स्रोत सुनिश्चित गर्दै केही विद्यालयहरू मर्ज गर्ने योजना समेत अघि बढाइएको छ।”
सोही कार्यक्रममा बोल्दै विद्यालय गाभ्ने र आवासीय प्रणाली लागु गर्ने विषयमा प्राविधिक एवं व्यवस्थापकीय तयारी भइरहेको नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिनुभयो।शिक्षा अधिकारी आचार्यले योजनाको आवश्यकता प्रष्ट्याउँदै भन्नुभयो:”छरिएर रहेका र थोरै विद्यार्थी भएका विद्यालयहरूमा भौतिक पूर्वाधार र दरबन्दीको सही सदुपयोग हुन सकिरहेको थिएन।
बालज्योतिलाई केन्द्र बनाएर हुर्चिल, डुडे, बसेनी, हात्तीसाल र आहाले क्षेत्रका विद्यार्थीहरूलाई आवासीय सुविधासहित एकै ठाउँमा ल्याउँदा राज्यको लगानी सदुपयोग हुन्छ। यसले गर्दा विद्यार्थीले राम्रो वातावरण, पर्याप्त शैक्षिक सामग्री र प्रविधिको प्रयोग गरेर सिक्न पाउँछन्। यो कदमले गैंडाकोटको पहाडी क्षेत्रको शैक्षिक गुणस्तरमा ठुलो फड्को मार्नेछ।”
नगरपालिकाको यो सार्वजनिक घोषणासँगै वर्षाौँदेखि बालबालिकालाई टाढा र जोखिमपूर्ण बाटोमा विद्यालय पठाउन चिन्तित रहेका स्थानीय अभिभावकहरूमा खुसीयाली छाएको छ। आवासीय भवन निर्माण भएपछि यस क्षेत्रमा विद्यालय छोड्ने (ड्रपआउट) दर शून्यमा झर्ने र गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूले पनि उच्च गुणस्तरको शिक्षा पाउने विश्वास लिइएको छ।

उज्यालो खबर