×

गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. १८ वडा कार्यालयले ‘विद्यालयसँग वडा अध्यक्ष’ कार्यक्रम अन्तर्गत वडाभित्रका ६ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा डिजिटल उपकरण वितरण गरेको छ। विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न र डिजिटल शिक्षणलाई प्रवर्द्धन गर्न कापी, कलम, सिसाकलमका साथै टिभी र प्रोजेक्टर वितरण गरिएको हो।

वडा कार्यालयका अनुसार जलदेवी आधारभूत विद्यालय (रतनपुर), त्रिशूली आधारभूत विद्यालय (हुर्चिल) र सरस्वती बालशिक्षा सदन (मटीकुरी) लाई एक-एक थान टिभी प्रदान गरिएको छ। यस्तै, वीरेन्द्र आधारभूत विद्यालय (बसेनी), बालज्योति माध्यमिक विद्यालय (दमार) र देउराली आधारभूत विद्यालय (आहाले) लाई एक-एक थान प्रोजेक्टर वितरण गरिएको छ।

सोही अवसरमा एसईई (SEE) र बीएलई (BLE) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक र उत्कृष्ट नतिजा ल्याउन सफल बालज्योति माध्यमिक विद्यालयलाई नगद पुरस्कार र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

सो क्रममा प्रमुख अतिथि एवं नगर प्रमुख (मेयर) मदनभक्त अधिकारीले वडाले विद्यालयहरूलाई डिजिटल युगमा प्रवेश गराएकोमा खुसी व्यक्त गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले यो सम्मानले विद्यार्थी र शिक्षकमा थप ऊर्जा थपेको बताउनुभयो। नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले प्रविधिको प्रयोगले ग्रामीण भेगका विद्यार्थीहरूको सिकाइ स्तर सुधार्न ठूलो मद्दत पुग्ने उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष तिल बहादुर चितौरेले ‘विद्यालयसँग वडा अध्यक्ष’ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो। उहाँले वडाका कुनै पनि बालबालिका आधुनिक शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो।  वडा सचिव रामू पौड्यालले  कार्यक्रमको उद्देश्य र विद्यालयहरूलाई गरिएको सहयोगबारे प्रकाश पार्नुभएको थियो।

तपाईको प्रतिक्रिया