×

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको जारी बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको जानकारी दिएका हुन्।

चुनावी परिणाम जस्तोसुकै आए पनि आफू महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि नहट्ने झाले स्पष्ट पारे। “म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ,” झाले सञ्चारकर्मीसँग भने, “परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ।”

विगत केही समयदेखि सञ्चारमाध्यममा आफ्नो उम्मेदवारीलाई लिएर भइरहेका चर्चाहरूमा आफ्नो पूर्ण स्वीकारोक्ति रहेको उनले बताए। मिडियामा आएका दाबी र अपेक्षाहरूलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो।

आफ्नो राजनीतिक महत्त्वाकांक्षाबारे प्रष्ट पार्दै प्रवक्ता झाले आफूमा देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने कुनै अपेक्षा नरहेको उल्लेख गरे। यद्यपि, नेतृत्वको विकास क्रममा आफू एक कदम अघि बढ्न चाहेको उनले बताए।

झाले भने, “यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिल्यै पनि अपेक्षा छैन। तर, अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्योभन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुनु स्वाभाविकै हो।”

तपाईको प्रतिक्रिया