×

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि चितवनमा सुरु हुँदैछ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा भाग लिन देशभरका विभिन्न जिल्ला र प्रवासबाट झण्डै ४१ सय प्रतिनिधिहरू चितवन आइपुगेका छन् ।

अधिकांश प्रतिनिधिहरू हिजो नै चितवन आइसकेका छन् । पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानदेखि रास्वपाले सुरु गरेको छ । महाधिवेशनस्थलमै बिहान ७ बजेदेखि ब्रेकफास्ट सुरु भइसकेको छ । प्रतिनिधिहरूलाई बिहानको ब्रेकफास्ट, बिहानको खाना, दिउँसोको हाइटी र बेलुकाको खानाको व्यवस्था पार्टीले गरेको हो ।

चितवनमा पहिलोपटक महाधिवेशनस्थलमै झण्डै ५ हजार जनाका लागि ‘लाइभ’ खाना पकाएर खुवाउने व्यवस्था गरिएको छ, जसको जिम्मेवारी दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले लिएको छ ।

बिहान र बेलुकाको खानामा जिरा राइस, दाल, अचार, सलाद र दहीसहित कम्तीमा १० वटा परिकारहरू रहने छन् । बिहानको खानामा खसीको मासु र भातको व्यवस्था गरिएको छ, जसका लागि दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ । मासु नखानेहरूका लागि पनिर, च्याउ र सिजनल तरकारीको व्यवस्था गरिएको छ भने बेलुका मिक्स भेज तरकारी खुवाइने छ ।

चितवनमा गर्मी भएकाले खानाको गुणस्तरमा उच्च सावधानी अपनाइएको छ । खाना व्यवस्थापनका लागि मात्रै झण्डै २ सय कर्मचारी परिचालन गरिएका छन् भने सहज रूपमा खाना लिन मिल्ने गरी दुवैतर्फबाट मिल्ने १५ वटा टेबल स्टलहरू लगाइएका छन् ।

खानपानको तालिका यसप्रकार छ:

  • ब्रेकफास्ट: बिहान ७:०० बजेदेखि

  • बिहानको खाना: दिउँसो १:०० देखि २:३० बजेसम्म

  • हाइटी: दिउँसो ३:०० देखि ५:०० बजेसम्म

  • बेलुकाको खाना: साँझ ६:०० देखि ९:०० बजेसम्म

महाधिवेशन व्यवस्थापनका लागि रास्वपाले हरेक प्रतिनिधिसँग ५ हजार रुपैयाँ शुल्क उठाएको छ । सोही रकमबाट खानाको व्यवस्था गरिएको भए पनि होटलमा बास बसेको खर्च भने प्रतिनिधिहरू आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया