नवलपुर । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को अन्तिम परीक्षामा नवलपुरको गैंडाकोट इङ्ग्लिस स्कुल (जीईएस) ले व्यवस्थापन (Management) संकायतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ । सार्वजनिक नतिजा अनुसार विद्यालयका छात्र समर्पण रेग्मीले ३.९२ जीपीए (GPA) अंक प्राप्त गरेका छन्, जुन व्यवस्थापन संकायतर्फ नवलपुर जिल्लाकै सम्भावित सर्वोत्कृष्ट नतिजा हो ।
यस वर्ष विद्यालयको कुल उत्तीर्ण प्रतिशत ८४.६२ रहेको छ । उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यालयका ६ जना विद्यार्थीले ‘A+’ ग्रेड र ११ जना विद्यार्थीले ‘A’ ग्रेड हासिल गर्न सफल भएका छन् । विद्यालयका तर्फबाट उच्च जीपीए प्राप्त गर्ने अन्य विद्यार्थीहरूमा कृष्ण शर्माले ३.७२, योगेश रेग्मीले ३.६६, आयुष थापाले ३.६३, सनम बि.क.ले ३.६२ र सञ्जिना सापकोटाले ३.६१ जीपीए ल्याएका छन् ।
विद्यालयको यो सानदार सफलताप्रति खुसी व्यक्त गर्दै गैंडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक मिहिनेतले नै यो नतिजा सम्भव भएको बताउनुभयो ।
प्राचार्य अर्यालले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले व्यवस्थापन संकायतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएर विद्यालयको मात्र होइन, सिंगो गैंडाकोट क्षेत्रकै शिर उँचो बनाएका छन् । विद्यार्थीहरूको अथक मिहिनेत, शिक्षक वर्गको उचित मार्गदर्शन र आदरणीय अभिभावकहरूको निरन्तरको विश्वासकै कारण आज जीईएसले यो गौरवमय सफलता प्राप्त गरेको हो ।”
विगत वर्षहरूमा पनि उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको गैंडाकोट इङ्ग्लिस स्कुलले यसपटकको बोर्ड परीक्षामा पनि आफ्नो साखलाई थप मजबुत बनाएको छ ।

उज्यालो खबर