×

भरतपुर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भोलिदेखि सुरु हुने प्रथम महाधिवेशनका कारण चितवनका अधिकांश होटलहरू शतप्रतिशत बुकिङ भएका छन्। असार ७ देखि ९ गतेसम्म भरतपुर महानगरपालिका वडा नं. १० मा हुन लागेको महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र शुभेच्छुकहरू आउने क्रम बढेसँगै यहाँका होटल तथा रेस्टुरेन्टहरू भरिभराउ भएका हुन्।

रास्वपाको उद्गम विन्दु मानिएको चितवनमा हुन लागेको यस ऐतिहासिक महाधिवेशनमा करिब ३ हजारदेखि ३५ सयको संख्यामा प्रतिनिधि, कार्यकर्ता, स्वयंसेवक र पर्यवेक्षकहरू सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेस्ट हाउस चौरमा र बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने सो पार्टीले जनाएको क्षेत्र।

असार महिनाको ‘अफ सिजन’ तथा आर्थिक मसान्तको समयमा होटलहरू भरिभराउ भएपछि स्थानीय व्यवसायीहरू उत्साहित भएका छन्। भरतपुर क्षेत्रका ठूला होटलहरू—सिराईचुली, दियालो फुडल्याण्ड, सिएमटी रिसोर्ट, ग्यालेक्सी गार्डेन, सिद्धार्थ, ल्याण्डमार्क र भिभान्ता लगायतका सबै कोठाहरू कम्तीमा ४ दिनका लागि बुक भइसकेका छन्। भरतपुरमा मात्र नभई नारायणगढ, गैंडाकोट, टाँडी, सौराहा, पटिहानी र मेघौलीसम्मका होटलहरूमा प्रतिनिधिहरूले स्थान सुरक्षित गरेका छन्।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार भरतपुर क्षेत्रमा नन-एसी कोठा न्यूनतम ६ सय र एसी कोठा १२ सय रुपैयाँको दरमा उपलब्ध छन्। रास्वपाको महाधिवेशनलाई एउटा उत्सव र अवसरका रूपमा लिँदै संघले कोठामा २५ प्रतिशत र खानामा १० प्रतिशत विशेष छुटको व्यवस्था गरेको छ। पाहुनाहरूको सहजीकरणका लागि बन्दसत्रस्थलमै हेल्प डेस्क स्थापना गरिने र सेवाको गुणस्तर अनुगमनका लागि ५ सदस्यीय समितिसमेत गठन गरिएको छ।

 महाधिवेशनको बहानामा धेरै कार्यकर्ता तथा सञ्चारकर्मीहरू परिवारसहित चितवन घुम्ने योजनाका साथ आएका छन्। यसले गर्दा चितवनको प्रख्यात खसीको तास, हाँसको छोइला र स्थानीय दुग्ध सहकारीहरूले ब्रान्डिङ गरेको महीको व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ।

सहभागीहरूका लागि चितवन राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, एकसिङ्गे गैँडा र पाटेबाघको अवलोकन, नारायणी नदीमा मोटर बोटिङ, रामसार सूचीमा सूचीकृत बीसहजारी ताल, मौलाकालिका मन्दिर, देवघाटधाम र ऐतिहासिक उपरदाङ्गढी मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनेका छन्।

पर्यटन विज्ञहरूका अनुसार रास्वपाले आफ्नो पहिलो महाधिवेशनका लागि विविधताले भरिपूर्ण देशको मध्यभाग (चितवन) रोज्नु सकारात्मक कदम हो। रास्वपा वर्तमान सरकारमा समेत हिस्सेदार रहेकाले यहाँको पर्यटन प्रवर्द्धन, भरतपुर विमानस्थलको विस्तार र रात्रिकालीन उडान जस्ता चितवनका मुख्य एजेन्डाहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्ने स्थानीय सरोकारवालाहरूको अपेक्षा छ।

तपाईको प्रतिक्रिया