गैँडाकोट। गैँडाकोट नगर क्षेत्रकै सबैभन्दा जेठो र प्रतिष्ठित उपभोक्ता संस्था “गैँडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्था” को नयाँ नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनले ऐतिहासिक जित दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पूर्ण रूपमा ‘क्लीन स्वीप’ गर्दै गठबन्धनको पूरा प्यानल नै विजयी भएको हो।
निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाले सार्वजनिक गर्नुभएको अन्तिम मतपरिणाम अनुसार संस्थाको नयाँ अध्यक्ष पदमा नेपाली काँग्रेसका विपिनभक्त अधिकारी विजयी हुनुभएको छ। उहाँले रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पराजित गर्नुभएको हो। त्यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेका कृष्णप्रसाद काफ्लेले रास्वपाका कृष्णप्रसाद पौडेललाई र सचिव पदमा काँग्रेसका दामोदर तिवारीले रास्वपाका रविन्द्रराज घिमिरेलाई पराजित गर्दै जित हासिल गर्नुभएको छ। कोषाध्यक्षमा एमालेका श्रीराम सुवेदीले रास्वपाकी इश्वरा शर्मा भट्टराईलाई पाखा लगाउनुभयो भने सहसचिवमा रुद्र बहादुर थापा र लेखा संयोजकमा भोजेन्द्र पौडेल विजयी हुनुभएको छ। लेखा सदस्यहरूमा विष्णु सापकोटा रिमाल र सन्तबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ।
खुला महिला सदस्यहरूमा तिर्सना अधिकारी, पदमा देवी शर्मा सुवेदी, पार्वती पोखरेल र लक्ष्मी पाण्डे घिमिरे विजयी हुनुभएको छ। यस्तै भौगोलिक क्लस्टर तर्फका संयोजकहरूमा अर्जुन पराजुली, नारायण घिमिरे, वेद बन्धु रेग्मी, धनप्रसाद सापकोटा, वेद प्रसाद गौडेल र सरस्वती न्युरे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
ठूलो जनसङ्ख्या, व्यापक उपभोक्ता आबद्धता र करोडौँको बजेट भएका कारण यहाँको नेतृत्व पाउनुलाई स्थानीय राजनीतिमा नगर प्रमुख (मेयर) जित्नु सरहकै प्रतिष्ठाको विषय मानिन्छ। राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहेका बेला स्थानीय स्तरमा पुराना र ठूला दल मिल्दा नगरमा बलियो प्रभाव बनाउन खोजेको नयाँ शक्ति रास्वपाले भने यस पटक एउटै पनि सिट सुरक्षित गर्न सकेन। नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमा बचाउँदै उपभोक्तालाई अझै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।
वि.सं. २०५१ सालमा स्थापना भएको यस प्रतिष्ठित संस्थालाई वि.सं. २०६३ सालमा संघीय खानेपानी विभागले औपचारिक रूपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो। भूमिगत जलस्रोतलाई प्रविधिमार्फत तानेर गैँडाकोटका घरधुरीमा २४ सै घण्टा शुद्ध खानेपानी पुर्याउँदै आएको यो संस्था नगरकै सबैभन्दा ठूलो र सुदृढ संस्था हो। संस्थाले हाल गैँडाकोट नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ का करिब ६ हजार ८ सय घरधुरीलाई शुद्ध पिउने पानी वितरण गर्दै आइरहेको छ भने संस्थासँग हाल करिब १३ करोड रुपैयाँ बैंक मौज्दात समेत रहेको छ।



उज्यालो खबर




