नवलपुर । राजनीतिक परिदृश्य फेरिने क्रमसँगै नवलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ। यसै राजनीतिक मोडमा रास्वपा नवलपुरको सभापति पदका लागि गैँडाकोट घर भएका अनुभवी नेता गोकुल सापकोटा बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्। लामो समय परम्परागत राजनीतिमा रहेर जनताको सुख-दुःखमा भिजेका सापकोटाको उम्मेदवारीले अहिले जिल्लाभरि नयाँ तरंग पैदा गरेको छ।
लामो राजनीतिक तथा सामाजिक पृष्ठभूमि बोकेका सापकोटा केवल राजनीतिमा मात्र सीमित छैनन्। सामाजिक सेवा र युवा नेतृत्वको क्षेत्रमा पनि उनको नाम उत्तिकै आदरका साथ लिइन्छ। उनी युवाहरूको प्रख्यात संस्था जेसीज (JCI Nepal) को पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका व्यक्तित्व हुन्। जेसीजको नेतृत्व तहमा रहेर देशैभरिका युवासँग काम गरेको उनको त्यो अनुभव अहिले रास्वपाको संगठन निर्माणमा ठूलो सम्पत्ति बनेको छ।
रास्वपामा आउनुअघि उनी नेपाली कांग्रेसका तर्फबाट महासमिति सदस्य जस्तो जिम्मेवार र उच्च तहमा रहेर नवलपुर क्षेत्रमा लामो समय राजनीति गरेका स्थापित अनुहार हुन्। तर पुराना दलहरूको कार्यशैली, आन्तरिक खिचातानी र नयाँ पुस्तालाई अवसर नदिने प्रवृत्तिका कारण असन्तुष्ट बन्दै उनले कांग्रेस परित्याग गरे। देशमा नयाँ राजनीतिक संस्कार, सुशासन र रूपान्तरणको सपना बोकेर उनी रास्वपाको ‘घण्टी’ अभियानमा समाहित भए।
नवलपुरको राजनीति र समाजलाई नजिकबाट नियाल्नेहरूका अनुसार गोकुल सापकोटा एक सरल र हक्की स्वभावका प्रस्ट वक्ता हुन्। विषयवस्तुलाई गहिराइमा बुझ्ने र जनसरोकारका मुद्दामा कसैसँग सम्झौता नगरी खरो एवं प्रस्ट रूपमा आफ्ना कुरा राख्न सक्ने उनको खुबीकै कारण उनी आम कार्यकर्ता र नागरिकमाझ लोकप्रिय छन्। यही बेदाग छवि, राजनीतिक परिपक्वता र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका कारण उनलाई रास्वपा नवलपुरको सांगठनिक नेतृत्व हाँक्न सक्ने सबैभन्दा उपयुक्त र कुशल दाबेदारका रूपमा हेरिएको छ।
गैँडाकोटको माटोबाट उठेका सापकोटा हाल नवलपुरमा रास्वपाको संगठनलाई थप बलियो, गतिशील र नयाँ उचाइमा पुऱ्याउन अहोरात्र खटिएका छन्।



उज्यालो खबर




