×

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव स्वीकृत भएसँगै बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. वाग्लेले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्नेछन्। उनले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा पेस गर्ने कार्यसूची तय भएको छ।

बजेटबाहेक आजको बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीसम्बन्धी प्रस्तावहरू समेत पेस हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

प्रतिनिधि सभाको बैठकसँगै आजै राष्ट्रिय सभाअन्तर्गतका दुईवटा विषयगत समितिहरूको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठक आजै बस्न लागेको हो।

तपाईको प्रतिक्रिया