×

चितवन । चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगर चोकमा अक्सफोर्ड कलेजको गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि उत्पन्न तनाव दुवै पक्षबीचको समझदारीसँगै समाधान भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने सहमति गरेपछि स्थिति सामान्य बनेको हो।

यसअघि हिजो अपरान्ह कलेजको गाडीले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले  प्रदर्शन गरेपछि विजयनगर चोक क्षेत्र केही समय  तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा पीडित पक्ष, कलेज प्रशासन र स्थानीय प्रतिनिधिबीच तत्काल छलफल गराइएको थियो। छलफलमा कलेज पक्षले पीडित परिवारलाई राहत दिने प्रतिबद्धता जनाएपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

सहमति भएसँगै स्थानीयको विरोध प्रदर्शन रोकिएको छ र घटनास्थलको अवस्था अहिले पूर्ण रूपमा सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया