×

गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर १८ ले वडाका किसानहरूका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ। वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाभित्रका ८ जना किसानलाई हाते ट्रयाक्टर (मिनी टेलर) र २ जना किसानलाई कुटानी-पिसानी मिल वितरण गरिएको हो।

कृषि कार्यलाई सहज र आधुनिक बनाउने उद्देश्यले आयोजित वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिल बहादुर चितौरे मगरले गाउँमा काम गर्ने मान्छे नहुँदा जमिन बाँझो रहने समस्या बढ्दै गएकाले प्रविधिको सहारा लिनुपरेको बताउनुभयो। “अहिले गाउँमा काम गर्ने मान्छेहरू छैनन्, जसले गर्दा खेतीयोग्य जमिन बाँझो बस्ने खतरा बढेको छ,” वडा अध्यक्ष चितौरेले भन्नुभयो, “वडामा जमिन बाँझो नहाेस र प्रविधिको प्रयोगले उत्पादन वृद्धि होस् भन्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम ल्याएका हौँ।”

कार्यक्रममा वडा सचिव रामु पौड्यालले गाउँको मुख्य समस्या जनशक्ति अभाव नै रहेको औँल्याउँदै यी उपकरणले किसानको श्रम र समय बचत गर्ने उल्लेख गर्नुभयो। “गाउँमा मान्छे नहुँदा खेतीपाती गर्न गाह्रो भइरहेको अवस्थामा यसले ठूलो राहत मिल्नेछ,” सचिव पौड्यालले भन्नुभयो, “अनुदानमा प्राप्त उपकरणको सही सदुपयोग गरी उत्पादन बढाउन म कृषकहरूलाई आग्रह गर्दछु।”

वडा कार्यालयले आगामी दिनमा पनि किसानका यस्ता समस्यालाई सम्बोधन गर्दै उत्पादनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिने जनाएको छ। ५० प्रतिशत अनुदानमा अत्याधुनिक उपकरण पाएपछि स्थानीय किसानहरू निकै खुसी भएका छन्।

वडा कार्यालयले वडाबासीको हित र विकासका लागि हालसम्म गरिरहेका कार्यहरूका बारेमा उज्यालोले वडा सचिव रामु पौड्यालसँग संक्षिप्त कुराकानी गरेको छ। कुराकानीका क्रममा सचिव पौड्यालले वडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र लक्षित वर्गको उत्थानमा पुर्‍याएको योगदानलाई यसरी प्रष्ट पार्नुभयो:

तपाईको प्रतिक्रिया