नवलपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते कावासोतीमा हुने निश्चित भएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार हुन गइरहेको यस अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय राजनीति गर्माएको छ।
अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको पहिलो जिल्ला सभापति बन्नका लागि नेताहरूबीच दौडधुप र लबिइङ तीव्र बनेको छ। रास्वपा नवलपुरको आगामी नेतृत्वका लागि मुख्य रूपमा गोकुल सापकोटा बलिया दाबेदारका रूपमा अगाडि देखिनुभएको छ। साङ्गठनिक सुझबुझ र स्थानीय स्तरमा बलियो प्रभाव रहेका सापकोटालाई कार्यकर्ता र प्रतिनिधिहरूको ठुलो हिस्साले प्राथमिकतामा राखेको बुझिएको छ। जिल्लामा रास्वपाको साङ्गठनिक जग बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि सापकोटाको दाबेदारीलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, सभापति पदका लागि सापकोटा एक्ला आकांक्षी भने हुनुहुन्न। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धाको माहौल सिर्जना गर्दै अन्य प्रभावशाली नेताहरूले पनि नेतृत्वका लागि आन्तरिक कसरत र गृहकार्यलाई तीव्र पारेका छन्। सभापति पदका लागि सापकोटासँगै दोमन भण्डारी, नरिश्वर लामिछाने, र कृष्ण गौतमले पार्टी वृत्तमा आन्तरिक संवाद र लबिइङ अगाडि बढाउनुभएको छ। यी नेताहरू जिल्लाका विभिन्न क्षेत्र र स्थानीय तहमा स्थापित अनुहार भएकाले आपसी सहमति वा आन्तरिक लोकतान्त्रिक छनोट प्रक्रिया निकै रोचक र सौहार्दपूर्ण हुने आकलन गरिएको छ।
पार्टी स्रोतका अनुसार अधिवेशनलाई लोकतान्त्रिक र भव्य बनाउन ८ वटै पालिका र ९२ वटा वडाहरूबाट चुनिएर आएका ६ सयभन्दा बढी प्रतिनिधिहरू कावासोतीमा केन्द्रित हुनेछन्। रास्वपाले अवलम्बन गर्दै आएको आन्तरिक लोकतन्त्र र “प्राइमरी इलेक्सन” को जगमा बन्ने यस जिल्ला समितिले आगामी दिनमा जिल्लाभर पार्टीको नीति र एजेन्डालाई अझ सशक्त रूपमा लैजाने अपेक्षा गरिएको छ।
सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि सहमति नभए लोकतान्त्रिक विधि (निर्वाचन) मार्फत नै नेतृत्वको छिनोफानो हुने प्रतिनिधिहरूले बताएका छन्। जेठ २४ गते कावासोतीमा हुने यो ऐतिहासिक अधिवेशनले नवलपुर रास्वपाको कमान्ड कसको हातमा सुम्पिने हो, त्यसलाई सर्वत्र चासोका साथ हेरिएको छ।



उज्यालो खबर




