रोल्पा।रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको खहरे खोलाको भेलमा बगेर स्थानीय दुई जना बालकको ज्यान गएको हो।
मृत्यु हुनेहरूमा रातामाटा निवासी निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी रहेका छन्। दुवै जना विद्यालयको छुट्टीपछि सँगै घर फर्किरहेका थिए।
साँझ पौने ६ बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको गम्भीरतालाई हेर्दै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीका अनुसार प्रहरीले स्थानीयको सहयोगमा घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान सुरु गरिसकेको छ। वर्षायाम सुरु भएसँगै पहाडी क्षेत्रका खहरे खोलाहरूमा अचानक आउने भेलका कारण दुर्घटना बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।



उज्यालो खबर




