गैँडाकोट- गैँडाकोट नगर क्षेत्रकै प्रतिष्ठित र ठूलो खानेपानी संस्था, गैँडाकोट पम्पीङ स्कीम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ ३० गते अधिवेशन तथा निर्वाचन हुने भएको छ । आगामी ४ वर्षको नयाँ कार्यकालका लागि पुरानो जनक माध्यमिक विद्यालयको प्राङ्गणमा चुनाव हुन लागेको हो । नगरका ९ वटा वडाका हजारौँ उपभोक्ता जोडिएको संस्था भएकाले यस निर्वाचनलाई स्थानीय स्तरमा निकै चासो र महत्त्वका साथ हेरिएको छ ।
संस्थाको वैधानिक व्यवस्था अनुसार निर्वाचनमा ‘एक धारा, एक भोट’ को नीति अवलम्बन गरिनेछ, जसका लागि यस पटक कुल ६ हजार ६ सय ९२ जना उपभोक्ताले मतदाताका रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । वि.सं. २०५१ सालमा स्थापना भएको यस संस्थालाई वि.सं. २०६३ सालमा संघीय खानेपानी विभागले औपचारिक रूपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो । संस्थाले हाल गैँडाकोट नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ का करिब ६ हजार ८ सय घरधुरीलाई शुद्ध पिउने पानी वितरण गर्दै आइरहेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा संस्थाको नेतृत्व सम्हाल्न वर्तमान कार्यसमितिका पदाधिकारीदेखि सदस्यहरूसम्मले आ-आफ्नो दाबेदारी र चाहना प्रस्तुत गरिरहेका छन् । वर्तमान अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो कार्यकालमा सुरु भएका अधुरा योजनाहरूलाई पूर्णता दिन पुनः नेतृत्वमा दोहोरिने चाहना राखेका छन् भने वर्तमान सचिव केशव राज शर्मा पौडेलले यस पटक संस्थाको मूल नेतृत्वका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । यस्तै, कार्यसमितिका वर्तमान सदस्य विपीनभक्त अधिकारी, डिल्लीराज घिमिरे र ज्ञानेन्द्र सापकोटा लगायतका अन्य नेतृत्वदायी व्यक्तित्वहरूले पनि संस्थाको आगामी नयाँ नेतृत्व र महत्त्वपूर्ण जिम्मेवारीका लागि आफ्नो बलियो इच्छा र आकांक्षा व्यक्त गरिरहेका छन् ।
६ हजार ८ सय घरधुरी प्रत्यक्ष जोडिएको संस्था भएकाले उपभोक्ताहरू माझ पनि चुनावी बहस सुरु भइसकेको छ । शुद्ध र नियमित खानेपानीको सुनिश्चितता, वैज्ञानिक महसुल दर, प्राविधिक सुधार तथा संस्थागत पारदर्शितालाई उपभोक्ताहरूले मुख्य एजेण्डा बनाएका छन् । जेठ ३० गते पुरानो जनक माविमा हुने मतदानले संस्थाको नयाँ नेतृत्व कसको हातमा सुम्पिने हो, त्यसको छिनोफानो ६ हजार ६ सय ९२ जना मतदाताले गर्नेछन् ।



उज्यालो खबर




