×

चितवन । चितवनको भरतपुरस्थित चौबिसकोठीमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने तयारी सुरु भएको छ । यसै विषयमा सहमति जुटाउन आज (सोमबार) भरतपुरमा एक बृहत् छलफल कार्यक्रमको आयोजना गरियो ।

छलफलबाट अभियानका संयोजक जिवलाल पुरीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सोही समितिले आगामी दिनमा सबै पक्षसँग थप छलफल गरेर शालिक राख्नेबारे अन्तिम निर्णय गर्ने बताइएको छ ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति कृष्ण भुसाल, नेकपा नेता बद्री तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष रुद्र ढकाल, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम गैरे र दुर्गा प्रसाईंको अभियानका संस्थापक अध्यक्ष मेघराज पौडेल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।

छलफलका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पनि बोलाइएको भए तापनि उनीहरूका तर्फबाट कोही पनि सहभागी नभएको संयोजक पुरीले जानकारी दिए । विगतको जनआन्दोलनका क्रममा हटाइएको राजा महेन्द्रको शालिक पुनः सोही ठाउँमा राख्न सुरु गरिएको यो प्रयासलाई चितवनमा चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया