×

कावासोती | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको लाखौँ मूल्यको अवैध विदेशी मदिरा बरामद गरेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. १६ डण्डामा खटिएको प्रहरी चेकिङ टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख १०५१ नम्बरको बसलाई शंका लागेर जाँच गर्दा उक्त अवैध सामान फेला परेको हो। बसभित्र बिना बिल-भरपाई लुकाई-छिपाई राखेको अवस्थामा नामी ब्रान्डका १४८ बोतल मदिरा फेला परेका थिए।

बरामद गरिएका मदिराहरूमा ब्ल्याक लेबल ४८ बोतल, ब्यालेन्टाइन्स ह्विस्की ४८ बोतल, ज्यागरमाइस्टर २४ बोतल, रेड लेबल १६ बोतल र एबसोलुट भोड्का १२ बोतल रहेका छन्। प्रहरीले उक्त बरामद मदिराको कुल बजार मूल्य करिब १२ लाख ६२ हजार ५०० रुपैयाँ रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) अनिल पण्डितका अनुसार बरामद गरिएको मदिरालाई आवश्यक कारबाहीका लागि श्री त्रिवेणी भन्सार कार्यालय पठाइसकिएको छ।

तपाईको प्रतिक्रिया