नेपालको रेडियो पत्रकारितामा जमिसकेको एउटा परिचित आवाज, जो सन् २००८ मा एउटा सुन्दर सपना बोकेर अस्ट्रेलिया उत्रियो। सुरुवाती दिनका संघर्ष, कलेजका कक्षा र फरक कामहरूको अनुभव बटुल्दै गर्दा उनको मनमा एउटा भिन्न व्यावसायिक सोच पलाउँदै थियो। उनी हुन् नवलपुरको गैंडाकोट घर भई हाल अस्ट्रेलियाको मेलबर्नलाई आफ्नो कर्मथलो बनाएका दिक्पाल देव पंगेनी।
विदेशी भूमिमा डेढ दशकभन्दा लामो यात्रा तय गरिसकेका गैंडाकोटका दिक्पालले हाल मेलबर्नको रियल-इस्टेट (घरजग्गा) व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। अस्ट्रेलियाको व्यस्त र प्रतिष्पर्धात्मक बजारमा उनले ‘नेस्ट फाइन्डर्स’ नामक कम्पनीमार्फत एउटा नौलो र उदाहरणीय सेवाको जग बसालेका छन्।
दिक्पाललाई रियल-इस्टेट क्षेत्रमा लाग्ने प्रेरणा कतै टाढाबाट होइन, आफ्नै परिवार र पृष्ठभूमिबाट मिलेको हो। नेपालमा उनका बुबा घर बनाएर बेच्ने काम गर्थे। बुबाले इँटा, सिमेन्ट र नक्साहरूसँग खेलेको देख्दै हुर्किएका दिक्पालको मनमा घरजग्गा व्यवसायको एउटा चित्र सानैदेखि कोरिएको थियो। सन् २०१२ तिर अस्ट्रेलियामा उनले आफैं जग्गा किनेर पहिलो घर बनाए, जुन उनको जीवनको एउटा महत्त्वपूर्ण मोड बन्यो। त्यसपछि साथीभाइहरू उनलाई घर बनाउने प्रक्रिया सोध्न र सल्लाह माग्न आउन थाले।
अस्ट्रेलियामा जग्गा किन्ने र घर बनाउने झन्झटिलो प्रक्रियाबारे धेरै नेपाली अनभिज्ञ रहेको उनले महसुस गरे। त्यही अनुभवलाई आत्मसात गर्दै आवश्यक तालिम र लाइसेन्स लिएर सन् २०१७ देखि उनी विधिवत् रूपमा यस क्षेत्रमा होमिए। करिब ८ वर्ष सेल्स एजेन्टका रूपमा बजारको गहिरो अनुभव बटुलेपछि उनले एक वर्ष अघि मात्र आफ्नै कम्पनी ‘नेस्ट फाइन्डर्स’ को स्थापना गरे।
सामान्यतया घरजग्गा व्यवसायमा एजेन्टहरू घर बेच्ने ग्राहक अर्थात् विक्रेतालाई केन्द्रमा राखेर काम गर्छन्। तर, गैंडाकोटका दिक्पालले बजारको यो स्थापित धारभन्दा बिल्कुलै फरक बाटो रोजे— ‘बायर्स एजेन्ट’ (Buyer’s Agent) को रूपमा। उनको कम्पनीले घर बेच्नेको होइन, बरु घर किन्न चाहने ग्राहकको पक्षमा रहेर काम गर्छ।
अस्ट्रेलियामा धेरैजसो रियल-इस्टेट कम्पनी घर बेच्न केन्द्रित भइरहेका बेला दिक्पालले घर किन्न चाहनेलाई सही निर्णय लिन सहयोग गर्ने उद्देश्य राखेका छन्। युरोप र अमेरिकामा व्यापक भए पनि अस्ट्रेलियामा यो अवधारणा अझै नयाँ छ। नयाँ देश, भिन्न नियम र बजारको पर्याप्त ज्ञान नहुँदा घर किन्नेहरू, विशेष गरी आप्रवासी नेपालीहरू, ठगिने वा गलत निर्णय लिने जोखिम उच्च हुन्छ। त्यही अलमललाई चिर्न र ग्राहकलाई सही मार्गनिर्देशन गर्न उनको कम्पनीले खरिद प्रक्रियामा सारथिको भूमिका खेलिरहेको छ।
हाल उनको कम्पनीमा तीन जनाले रोजगारी पाएका छन्, जसको टोलीले ग्राहकका लागि कुन क्षेत्र उपयुक्त हुन्छ, कस्तो प्रकारको घर रोज्ने, र दीर्घकालीन मूल्य कस्तो रहन्छ भन्ने कुराको गहिरो डेटा विश्लेषण र संरचनात्मक अनुसन्धान गर्छ। अस्ट्रेलियाको घरजग्गा बजार निकै कडा कानुनी दायरा र पारदर्शितामा चल्ने गर्छ। घर किन्दा ग्राहकले राखेको बैना रकम (डिपोजिट) कम्पनीले व्यक्तिगत वा अन्य काममा चलाउनै पाउँदैन।
त्यो सिधै सरकारी निगरानीमा रहने ‘रियल-इस्टेट ट्रस्ट अकाउन्ट’ मा बस्छ र यसको वार्षिक अडिट अनिवार्य हुन्छ। यदि यसको दुरुपयोग गरेको पाइएमा एजेन्टको लाइसेन्स खारेज मात्र होइन, कडा कानुनी सजाय वा जेलसम्म हुन सक्छ। यहाँ उपभोक्तालाई झुक्याउने वा गलत जानकारी दिने उद्देश्यले कारोबार गर्न पाइँदैन।
अस्ट्रेलियाको बजार माग र विगतको डेटाका आधारमा घरको अनुमानित मूल्य तय हुने र ‘ओपन हाउस’ मार्फत ग्राहकलाई घर घुमाइने यो व्यवसाय जति व्यवस्थित छ, त्यति नै चुनौतीपूर्ण पनि छ। दिक्पालका अनुसार घरजग्गा व्यवसायमा ग्राहकका लागि सही र सुरक्षित घर छनोट गरिदिनु नै सबभन्दा ठूलो चुनौती हो।
नवलपुरको गैंडाकोटको माटोबाट सुरु भएको दिक्पालको यात्रा आज अस्ट्रेलियाको रियल-इस्टेट बजारमा एउटा भरपर्दो खम्बा बन्दै गइरहेको छ। आर्थिक रूपमा राम्रो सम्भावना बोकेको यस व्यवसायमार्फत विदेशमा रहेका नेपाली समुदायलाई एउटा सुरक्षित र विश्वासिलो मार्गदर्शक बन्न पाउनु नै उनी आफ्नो वास्तविक सफलता ठान्छन्।



उज्यालो खबर




