काठमाडौँ । जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
दिवसको मुख्य आकर्षणका रूपमा आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरिँदैछ । समारोह सुरु हुनुअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ । बिहान ८ बजेदेखि सुरु हुने उक्त विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत मुलुकका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको उपस्थितिमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा थियो । तर, यस वर्ष प्रधानमन्त्री बालेनले सैनिक मञ्चको समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।
गणतन्त्रको वास्तविक प्रतीक राष्ट्रपति नै भएकाले राष्ट्रपतिबाटै सम्बोधन हुनुपर्ने अडानसहित प्रधानमन्त्री बालेनले शीतल निवासमा पत्र पठाएर सोहीबमोजिम व्यवस्था मिलाउन अनुरोध गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन टुँडीखेलको समारोहमा उपस्थित हुने भए पनि उनले सम्बोधन भने गर्ने छैनन् । यस वर्षको समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
१२ बुँदे समझदारीदेखि गणतन्त्र घोषणासम्मको यात्रा
नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको जग वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि सडकमा रहेका आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बीच भएको १२ बुँदे समझदारीबाट बसेको थियो । वि.सं. २०६२ मंसिरमा भएको सोही समझदारीको जगमा वि.सं. २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतमा उत्कर्षमा पुग्यो र नयाँ वर्ष २०६३ को सुरुवातसँगै लाखौँ जनता सडकमा उत्रिए ।
जनसागर सडकमा ओर्लिएपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह जनआन्दोलनको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य भएका थिए । वि.सं. २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्को ऐतिहासिक बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको उक्त घोषणालाई नेपाली ‘म्याग्नाकार्टा’ समेत भनिन्छ ।
त्यसैको बलमा वि.सं. २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । र, संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले ऐतिहासिक निर्णय गर्दै देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको घोषणा गर्यो ।
संविधान जारी र संस्थागत विकास
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि गणतन्त्रको जग बसाल्ने काम गर्यो । पछि वि.सं. २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले वि.सं. २०७२ असोज ३ गते ‘नेपालको संविधान’ जारी गर्यो ।
नयाँ संविधान जारी भएपछि मुलुकमा संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको निर्वाचन सम्पन्न भई राजनीतिक व्यवस्था संस्थागत भएको छ र हाल तिनै तहका सरकारहरूले शासन सञ्चालन गरिरहेका छन् ।
गणतन्त्र स्थापनायता संविधान सभाले डा. रामवरण यादवलाई मुलुकको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति एवं नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् भने हाल तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले कार्यभार सम्हालिरहेका छन् ।



उज्यालो खबर




