गैंडाकोट। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीमा बुधबार बेलुकी दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जेठ १३ गते बेलुकी १९:३० बजेको समयमा देवचुली नगरपालिका वडा नं. १७ स्थित झरहीखोला पूर्व-पश्चिम राजमार्गमा उक्त दुर्घटना भएको हो । नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२-०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको लु.प्र.०१-०११ प ९९९१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सडकमै पल्टिएका थिए ।
दुर्घटनामा बा.प्र.०२-०१६ प ९६१८ नम्बरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भएका २६ वर्षीय दिनेश गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली पठाइए पनि चिकित्सकले बेलुकी १९:४५ बजे मृत घोषित गरेका थिए ।
दुर्घटनामा परेर अर्का मोटरसाइकल-लु.प्र.०१-०११ प ९९९१) का चालक रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. १२ बस्ने ३४ वर्षीय रोहन पन्थी घाइते भएका छन् । उनको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ र हाल उनी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १६ का २५ वर्षीय अमृत आचार्यको दाहिने हात र खुट्टामा चोट लागेको छ भने मृतक गिरीको मोटरसाइकल पछाडि सवार रामेछाप मन्थली नगरपालिका वडा नं. ७ का २६ वर्षीय डम्बर बहादुर माझीको बायाँ हातमा चोट लागेको छ ।
घाइतेहरूको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




